स्वतन्त्र विद्यार्थी युनियन नेपाली विद्यार्थी आन्दोलनको मेरुदण्ड हो । नेपाली विद्यार्थी आन्दोलनलाई निर्णायक र उपलब्धिमुलक बनाउनका लागी स्ववियु बिना संभव हुदैन । हजारौँ अग्रजहरुको मेहनत र परिश्रम द्धारा स्थापित स्ववियलेु आम विद्यार्थीहरुको शैक्षिक हक-अधिकारहरुलाई सुनिश्चित गर्न सहयोग गरेको छ । हिजो पञ्चायतकालीन समयमा समेत विद्यार्थी आन्दोलन यहि स्ववियु मार्फत अगाडि बढाईएको र हरेक क्याम्पसमा अध्ययन गर्ने दुर-दराजका विद्यार्थीहरुलाई शैक्षिक हक अधिकार सुरक्षित गर्ने निर्वाचित संस्था स्ववियु हो । शैक्षिक क्षेत्रमा देखिएका अनेकन बेतिथीहरुलाई उखेल्न स्ववियुले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ । गरिब, किसानका छोराछोरीहरुले महंगो शुल्क तिरेर पढ्न नसक्ने अवस्थामा उनीहरुलाई उच्च शिक्षामा सहभागी बनाउने तथा आत्मा निर्भर बनाउने कार्यमा स्ववियुको भुमिका गहन रहदै आएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने तमाम विद्यार्थीहरुको शैक्षिक समस्याहरु समाधान गर्ने एकमात्र प्रतिनीधिमुलक आधिकारिक संस्था स्ववियु हो । त्रि. वि का आंगिक एवं सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्थापित स्ववियुले विद्यार्थीहरुलाई शैक्षिक एवं रचनात्मक गतिविधिहरुमा सहभागी गराउँदै उनीहरुको बृहत्तर शैक्षिक विकासमा अभिभावकीय भुमिका बहन गर्दै आएको छ । 

नेपालमा विभिन्न कालखण्डमा भएका परिवर्तनकारी आन्दोलनमा स्ववियुको महत्वपुर्ण सहभागीता रहँदै आएको छ । मुलुकको व्यवस्था परिवर्तनका सन्दर्भमा होस् वा जनतनको जनजिविका संग जोडिएका प्रत्यक्ष सवालहरुमा होस स्ववियुको भुमिका महत्वपुर्ण रहँदै आएको छ । यतिबेला त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका बमाेजिम स्ववियु निर्वाचन केन्द्रित भएर हरेक क्याम्पसहरुले निर्वाचनका प्रक्रियाहरु ऋगाडी बढाईरहेका छन । त्रिविका आंगिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनलाई स्वच्छ, मर्यादित र बिबादरहित बनाका लागी त्रिविले आचारसमिंता सहित हरेक क्याम्पसलाई परिपत्र गरिसकेको छ । 

स्ववियुलाई विद्यार्थी आन्दोलनको गहनाको रुपमा हेरिन्छ । परिवर्तनको महत्वपुर्ण हिस्सा बोकेको स्ववियु निर्वाचनको सरगर्मिले ईतिहासलाई एकपटक ब्युँझाएको मात्र छैन, विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा शैक्षिक गुणस्तरमा सुधार, क्याम्पसमा हुने गरेका अनियमितता, बेथितिका चाँङ र भ्रष्टाचारको अन्त्यका लागी थप मलजल हुनेछ । स्ववियु निर्वाचनले समग्र विद्यार्थीहरुको हित र सार्वजनिक सवालका विषयहरुलाई तदारुकताका साथ उठान गर्नेछ । नेपालको पछिल्लो राजनीतिक प्रतिशोधमुलक गैरराजनीतिक संस्कार र अस्थिर सरकारका कारण आम जनमानसमा देखिदै आएको वितृष्ण, नेपाली राजनीति प्रतिको घृणालाई स्ववियु निर्वाचनले केही हदसम्म स्पष्ट पार्दछ । नेपालको इतिहासमा मिनि संसदको रुपमा हेरिदै आएको स्ववियुु र यसको निर्वाचनलाई नियमित एवं जिम्मेवार बनाईयो भने भोलिको नीति निर्माण र नेतृत्वको जग इतिहास जस्तै झल्किरहने छ । यसको निरन्तरताले पछिल्लो पुस्तालाई जिम्मेवार बन्न र संगठित गर्ने काममा उत्प्रेरण जगाउने छ । त्यति मात्रै हैन विश्वविद्यालयका क्याम्पसहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको सदुपयोग गर्ने अवसर समेत पाउने छन ।

स्ववियुले सदैव राष्ट्रिय स्वभिमानको रक्षा, परिवर्तन, एकता र मुलुककोे रुपान्तरणको पक्षमा आफुलाई अग्रभागमा राख्न सक्नुपर्दछ । खासगरि प्रमुख विद्यार्थी संगठनहरु बीचमा एकता कायम गरि स्ववियुको गरिमालाई थप उचाईमा पु¥याउने गहन जिम्मवारी हाम्रो काँधमा आईपुगेको छ ।

स्ववियुलाई नेपाली विद्यार्थी आन्दोलनको गर्विलो विरासतको पृष्ठभुमिमा लाखौं युवा विद्यार्थीको आस्था, विश्वास र निष्ठाको प्रतिक बनाउन सक्नु पर्दछ । आजको सन्दर्भमा स्ववियुको आचरण र संस्कारमा कसरी फरकपन वा नयाँपन ल्याउने भन्ने नैतिक जिम्मेवारी स्वंम विद्यार्थी संगठनको जिम्मामा छ । अर्थात स्ववियुको नेतृत्वमा नैतिक एवं जिम्मेवारी पुर्ण आचरण हुनुपर्दछ । पछिल्लो समयमा स्ववियुको नेतृत्वमा आईसकेपछि गर्विलो ईतिहासलाई धज्जी उडाउँदै, हाम्रा अग्रजको मेहनत र पसिनालाई कुल्चदै नेतृत्वमा चरम स्वार्थीभाव एवं आर्थिक अपारदर्शीताका कारणले आम विद्यार्थीको प्रतिनीधिमुलक संस्था स्ववियुको गरिमा माथी चोट पुगेको छ । केहि व्यक्तिका व्यक्तिगत स्वार्थले क्याम्पस प्रशासन संगको सहकार्यमा स्वावियुलाई माध्यम बनाएर भ्रष्टचारको अखडाको रुपामा परिचित गराउँने गरेको दुखद परिदृश्यलाई आम शिक्षित विद्यार्थीहरुले यस पटक गम्भिर रुपमा अध्ययन गरि यस्ता किसिमका बेतिथिहरुका विरुद्धमा आफ्नो अमुल्य मत जाहेर गनुपर्ने समय आएको छ । क्याम्पसमा संचालित विभिन्न किसिमका प्राईभेट कार्यक्रममा अध्ययन गर्ने तमाम विद्यार्थीहरुको सिट रोकेर भागबण्डा गर्ने, अनावश्यक रुपमा क्याम्पसमा तालाबन्दी गर्ने, क्याम्पस प्रमुख एवं क्याम्पसमा क्रियाशील प्राध्यापक, कर्मचारीहरुलाई धम्क्याएर आफ्नो स्वार्थ पुर्ति गर्ने गैरराजनीतिक चरित्रका विरुद्धमा हामी दृढताका साथ उभिनु आजको जरुर आवश्यकता रहेको छ । क्याम्पसमा भर्खरै प्रवेश गरेको नवविद्यार्थीलाई विभिन्न किसिमका प्रलोभनमा पारी भर्ना गरिदिने नाममा थप अन्य रकम लिएर धन्दा चलाउने परिपाटिले आज विश्वविद्यालयहरु लज्जित भएका छन । विद्यार्थी नेता नै यस्ता किसिमका फोहोरी खेलमा लाग्दा समग्र नेपालको विद्यार्थी आन्दोलन माथी ठुलो प्रश्न चिन्ह खडा भएको छ । त्रिविका क्याम्पसहरुमा आफ्नो पहुँच स्थापित गर्न बाहिरका जमात प्रयोग गर्ने एवं क्याम्पसहरुमा असुरक्षाको वातावरण सृजना गरि स्वार्थ समुह हावी हुने जो देखिएको छ, यसले नेपालको विद्यार्थी आन्दोलनलाई तहसनहस बनाई रहेको छ । 

तसर्थ आम विद्यार्थीहरुका माझमा सबै किसिमका अराजकता, अन्याय, भष्टचार र बेतिथिका विरुद्धमा स्वच्छ, इमान्दार, योग्य र सक्षम नेतृत्व चयन गरि स्ववियुको गर्विलो इतिहासलाई अक्षुण राख्ने स्वर्णिम समय आर्ईपुगेको छ । यो महत्वपुर्ण समयमा हरेक क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने तमाम विद्यार्थीहरुले आफ्नो अमुल्य मत जाहेर गरि स्ववियुको सक्षम नेतृत्व छान्ने सुनौला अवसरलाई सदुपयोग गर्ने बेला आएको छ ।

लेखक पाण्डेय पाटन संयुक्त क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सचिव पदका उम्मेद्वार हुन ।