इटहरी। सरकारी दमक अस्पतालले बिरामीको चाप अधिक भएपछि बिहान साढे ७ बजेदेखि नै बिरामी जाँच सुरु गरेको छ । बिहान ५ बजेदेखि नै बिरामी लाइन बस्ने र साढे १० बजेदेखि मात्र बिरामीको जाँच हुने भएकाले बिरामीहरुले धेरै हैरानी खेप्दै आएका थिए । दैनिक १ हजारभन्दा बढी बिरामीहरु ओपिडीका लागि आँउदा बिहान ५ बजे लाइन बसेको बिरामीले बेलुकासम्म बसेर सेवा लिने अवस्था रहेको थियो । यसअघि छाला रोग सम्बन्धिको ओपिडी सेवा बिहान सुरु गरिएको थियो । नगर अस्पतालको रुपमा रहेको दमक अस्पतालको सेवा विस्तारको क्रममा विहिबारदेखि बिहानैदेखि ओपिडी सेवा सुरु गरिएको दमक नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापाले बताउनुभयो । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमको प्रथम बिन्दु अस्पताल भएकाले बिरामीको चाप यस अस्पतालमा अधिक रहेको छ । जेष्ठ नागरिकहरुलाई बेग्लैसहित अस्पतालले ५ वटा काउण्टरमार्फत टोकनप्रणालीबाट बिरामीको पुर्जा बनाउँदै आएको छ । केही दिन अघिमात्र ईमरजेन्सि बिरामीका लागि बेग्लै प्रयोगशाला सुरु गरेको अस्पतालले ओपिडी सेवा बिहानदेखि सुरु गरेपछि बिरामीले सहज रुपमा उपचार पाउने र एकैदिन जाँच गरेर औषधी लिएर जान सक्ने बताइन्छ ।


