सुनसरी | राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सुनसरी जिल्लाको चौथो जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा कुल बहादुर कार्कीलाई अध्यक्षमा चयन गरेको छ ।
नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सरोज कुमार चौधरी, महिला उपाध्यक्षमा रञ्जिता कुमारी चौधरी, सचिवमा हरि प्रसाद गौतम, सहसचिवमा कुशा घिमिरे, कोषाध्यक्षमा संगीत कोइराला चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा कविता कुमारी चौधरी, केशब खत्री, चन्द्र बहादुर श्रेष्ठ र विजय मेहता रहेका छन्।
नयाँ नेतृत्व चयनसँगै स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण, सेवा प्रवाह सुधार तथा पेशागत सुरक्षाका विषयमा महासंघले आगामी दिनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता रहेको नवनिर्वाचित अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) सुनसरी जिल्ला सचिव राम कोइराला रहेका थिए। उनले स्वास्थ्यकर्मीहरूको भूमिका समाजमा अतुलनीय रहेको बताउँदै राज्यले उनीहरूका माग र आवश्यकताहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनले भने, "स्वास्थ्यकर्मीहरू समाजका खम्बा हुन्। तिनीहरूको सुरक्षाको ग्यारेन्टी हुनु जरुरी छ। राज्यले स्वास्थ्य क्षेत्रमा आवश्यक लगानी बढाउनुका साथै कर्मचारीहरूको सेवा, सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ।"
कार्यक्रममा अन्य वक्ताहरूले स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि सरकार तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। नव निर्वाचित अध्यक्ष कुल बहादुर कार्कीले महासंघले आगामी दिनमा तलब-भत्ता, पदोन्नति, कार्यस्थल सुरक्षा लगायतका विषयमा पहल गर्ने उल्लेख गरे। साथै, सरकारले स्वास्थ्य नीति सुधार, दक्ष जनशक्ति व्यवस्थापन, तालिम तथा सुविधा वृद्धि गर्न पहल गर्नुपर्ने उनको भनाइ थियो ।
नयाँ नेतृत्वको चयनसँगै स्वास्थ्यकर्मीहरूको पेशागत हकहित र सेवा प्रवाह सुधारका लागि महासंघले प्रभावकारी कदम चाल्ने अपेक्षा गरिएको छ। 
स्वास्थ्यकर्मीहरूको हक, अधिकार तथा पेशागत सुरक्षाका लागि क्रियाशील यस महासंघको अधिवेशनमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला, प्रदेश तथा केन्द्रका नेताहरूले स्वास्थ्य क्षेत्रका समस्याबारे महत्वपूर्ण धारणा राख्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।


