इटहरी । रामधुनीमा स्त्री तथा महिला रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । रामधुनी नगरपालिकाको आयोजना तथा नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा निर्माणाधीन झुम्का आधारभूत अस्पतालमा भएको उक्त शिविरबाट १ सय २२ जनाले सेवा लिएका थिए । शिविरमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा बाँझोपन भएका महिलाहरूका लागि प्रारम्भिक परीक्षण तथा रोकथाम व्यवस्थापन गरिएको थियो । रामधुनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नगेन्द्र पौडेलका अनुसार, स्थानीय महिलाहरूलाई लक्षित गरी स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । महिलाहरूका लागि नियमित स्वास्थ्य परीक्षण अनिवार्य भएकाले प्रारम्भिक रूपमा नै रोग पहिचान गर्न सकियो भने धेरै समस्याहरू समाधान गर्न सकिने रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाले बताउनु भयो । स्वास्थ्य नै जीवनको पहिलो प्राथमिकता हो, त्यसैले यस्ता शिविरलाई अझ प्रभावकारी बनाउन हामी निरन्तर लागि पर्ने उहाँको भनाइ छ । शिविरबाट क्यान्सर देखिएकाहरूलाई थप उपचारका लागि नोबेल मेडिकल कलेज, विराटनगरमा रिफर गरिने झुम्का आधारभूत अस्पतालका कार्यालय प्रमुख डाक्टर सैयम कोइरालाले जानकारी दिनुभयो । नोबेल मेडिकल कलेज, विराटनगरका क्यान्सर रोग विशेषज्ञ प्रदिप भण्डारी, स्त्री रोग विशेषज्ञ मिलुना भुषाल लगायतको सहभागितामा शिविर सम्पन्न भएको थियो ।