इटहरी | इटहरी अस्पताल अहिले हिजोको जस्तो छैन । बिरामी जँचाउने अनि उपचारका लागि धरान या विराटनगर जानुपर्ने इटहरीवासीको बाध्यता हटेको छ । अहिले इटहरी अस्पतालमा दैनिक हाडजोर्नी, महिला, स्त्री रोग र बाल रोग विशेषज्ञको नियमित सेवा उपलब्ध छ । जनरल मेडिकल सेवाका लागि एमबिबिएस डाक्टर उपलब्ध छन् ।
पोहोर साल सम्म इटहरी अस्पताल स्वास्थ्य शिविर जस्तो थियो । विशेषज्ञसँग जँचाउनु परे बच्चाको डाक्टर कुन बार कुन क्लिनिक आउँछ, हाडजोर्नी , स्त्रीरोगका विशेषज्ञ कहिले आउँछ सोधखोजको विषय हुन्थ्यो । क्लिनिकमा नाम टिपायो लाइनमा बसेर जँचाएपछि डाक्टरले धरान, विराटनगर कहाँ बोलाउँछ जानुपर्ने बाध्यता थियो ।
‘अहिले इटहरीवासीलाई त्यस्तो बाध्यता छैन, इटहरी अस्पतालमा हाड जोर्नी, स्त्री रोग र बाल रोग विशेषज्ञहरूले नियमित सेवा दिइरहेका छन् ।’ कुनै पनि दिन आउने बिरामीले बार सोधी रहनु पर्दैन ।
इटहरीवासीले बसौँ देखि भोग्दै आएको समस्याबाट अहिले राहत मिलेको छ । इटहरी अस्पतालमा नियमित रूपमा विशेषज्ञ डाक्टरहरू राखेर सेवा दिन सुरु गरेपछि इटहरीवासीलाई थोरै भएपनि राहत मिलेको हो । गएको वर्ष देखी इटहरी अस्पतालले विशेषज्ञ डाक्टरहरूलाई नियमित रूपमा अस्पतालमा राखेर स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि इटहरीवासीले केही सहज महसुस गर्न थालेका छन् ।
हाडजोर्नी विशेषज्ञले बिहान १० देखी ४ बजे सम्म, महिला तथा स्त्री रोग विशेषज्ञ २ जना महिला डाक्टर छन् । एकजना बिहान १० देखी २ बजे सम्म र अर्को १० देखी ४ बजे सम्म नै बसेर सेवा दिन्छन् । बाल रोग विशेषज्ञ डाक्टर बिहान १० देखी ४ बजे सम्म उपलब्ध छन् । अरू एमबिबिएस डाक्टरहरूबाट अन्य प्रकारका बिरामीलाई चेकजाँच हुन्छ ।
इटहरी अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका लागि आउने बिरामीहरूको चाप बढेको छ । एकवर्ष यता विशेषज्ञ डाक्टरहरूले सेवा नियमित भएपछि अस्पतालमा बिरामीको चाप बढेको छ ।
अस्पतालमा बिरामीको सङ्ख्या बढेको अस्पताल प्रशासनले बताएको छ । विशेष गरी रगत जाँच गर्ने, एक्स रे गर्ने, भिडियो एक्स रे, इसिजी गर्ने बिरामीहरूको सङ्ख्या बढेको पाइन्छ । रोग पहिचानका लागि गरिने रगत, पिसाब, एक्सरे, भिडियो एक्सरे, सुगर जाँच, भिटामिन डी,थाईराईड लगायतका चेकजाँच गर्न बाहिर भन्दा अस्पताल आउने बडेका छन् ।
सुगर जाँच्दै आएका इटहरी-२ का कमल तिम्सिनाले भने, ‘पहिलो क्लिनिकमा जाने गरेकोमा अहिले इटहरी अस्पतालमा नै सजिलो भएको छ ।’ बिमाका कारण पनि धेरै स्वास्थ्य परीक्षणका लागि अस्पताल आउने गरेको इटहरी अस्पतालकी प्रशासन शाखाकी पूजा भट्टराईले बताइन् ।
बिरामीहरूको चाप बढेसँगै अस्पतालले टोकन सिस्टम लगाएको छ । पुर्जा लिन टोकन नम्बरको आधारमा पालो आउने गर्छ । टोकन लिएका बिरामीलाई बस्न कुर्सीको व्यवस्था छ । अप्ठ्यारो पर्नेहरूलाई सुरक्षामा खटिएका सुरक्षा गार्डहरूको सहज करण गरिदिने गरेको छ ।
इटहरी अस्पतालले पछिल्लो एक वर्ष देखी २४ सै घण्टा इमरजेन्सी सेवा दिइरहेको छ । इमरजेन्सीमा ५ बेड मार्फत सेवा दिइरहेको अस्पतालले जनाएको छ । आएका बिरामीहरूलाई थप उपचार परे १५ बेडको जनरल वार्डको व्यवस्था गरिएको छ ।
इटहरी अस्पतालको हालको भवनबाट थप सेवा विस्तारका लागि समस्या भइरहेको अस्पतालका मेसु त्रितालले बताए । उनले भने, ‘भवन सानो छ, पर्याप्त कोठाहरू छैनन्, चाहेर पनि थप सेवा विस्तार गर्न सकिरहेको छैन ।’
उनले थप सेवा विस्तारका लागि नयाँ भवन बनेर सञ्चालनमा आएपछि मात्रै सेवा विस्तार गर्न सकिने अवस्था भएको बताए । सङ्घीय सरकारले दिएको बजेटबाट अस्पताल परिसरमै १५ बेडको नगर अस्पतालको भवन निर्माणाधीन छ । समयमै सकिनुपर्ने भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको सेवा विस्तारमा समस्या देखिएको छ ।
इटहरीको मेयर हेमकर्ण पौडेलले अस्पतालको बन्दै गरेको भवन चाँडै सक्ने गरी काम भइरहेको बताए । अस्पतालको सेवालाई विस्तार गर्न तयारी भइरहेको उनको भनाई छ । मेयर पौडेले अस्पतालको स्तर उन्नतिका लागि सिटिस्कान र एमआरआई मेसिन थप गर्ने तयारी भइरहेको छ । उनले भने, ‘साथै रोटरी क्लबले दिएको डाईलासिस मेसिनलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’
हिजो राजनीतिक र प्रशासनिक रूपमा ओझेलमा परेको इटहरी अस्पतालमा अहिले स्थानिय सरकारले गरेको लगानीको केही प्रतिफल देखा पर्न थालेको छ । तर दिर्घकालिन रूपमा यही रूपले अगाडि बढाउन भने अझै ठुलो आर्थिक स्रोतको आवश्यकता पर्छ ।
सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि स्थानिय सरकारले दिर्घकालिन आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने चुनौती छ । प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्दै अस्पतालका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, दरबन्दी सहितको दक्ष जनशक्ति, र औजार उपकरणको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको मेयर पौडेले बताए ।
