इटहरी — वैदेशिक रोजगारमा गएका नेपालीहरूको हक र अधिकारका लागि स्थापना गरिएको सुनसरी वैदेशिक रोजगार हक हित संघको आयोजनामा एक विशेष सरसफाइ अभियान तथा डस्टबिन वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापना भएको संघले इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा सरसफाइ गरी ५० थान डस्टबिन राखेर वातावरण स्वच्छ र स्वस्थ बनाउन योगदान पुर्याएको हो।
यो कार्यक्रम संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको हो। २०७२ सालमा स्थापना भई निरन्तर सामाजिक गतिविधिमा संलग्न रहँदै आएको यस संघले विभिन्न समयमा मानवअधिकार, आपतकालीन सहयोग, जनचेतना अभिवृद्धि तथा सामाजिक सेवामूलक कार्यक्रमहरू गर्दै आएको छ।
संघका अध्यक्ष चन्खमान तामाङका अनुसार, “डस्टबिन वितरण मात्र कार्यक्रमको अन्तिम लक्ष्य होइन, हामीले यस अभियानमार्फत् जनमानसमा स्वच्छताको महत्व र फोहोर व्यवस्थापनमा जनसहभागिता कति जरुरी छ भन्ने सन्देश दिन खोजेका हौं। नगरलाई सफा, सुन्दर र हरित बनाउने यात्रामा हामी सधैं अग्रसर छौं।”
कार्यक्रममा बोल्दै बुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राईले यस्ता अभियानहरू केवल सफाइका लागि नभई सामाजिक एकता र सचेतनाको लागि पनि अत्यन्त प्रभावकारी हुने बताए। “इटहरीजस्ता तीव्र शहरीकरण भइरहेको सहरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण विषय हो। यसलाई समाधान गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक छ। क्लबले पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर सहभागी हुँदै आएको छ,” उनले थपे।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका–४ का वडा अध्यक्ष भक्त लामाले सरसफाइलाई स्थानीय सरकारको प्राथमिकतामा राखिएको बताए। उनले भने, “हामीले नीति त बनायौं, तर कार्यान्वयनमा सामुदायिक सहभागिता नभएसम्म सफलता सम्भव छैन। यस्ता कार्यक्रमहरूले जनतालाई प्रत्यक्ष सरोकारका विषयमा जागरूक बनाउने काम गर्छन्। नगरवासी सबैलाई सरसफाइमा सहभागी हुन म आग्रह गर्दछु।”
कार्यक्रम इटहरी उपमहानगरपालिका गेट अगाडिबाट सुरु भई बजार क्षेत्रका विभिन्न स्थानहरूमा सरसफाइ गर्दै अगाडि बढाइएको थियो। सहभागीहरूले प्लास्टिक, कागज तथा अन्य फोहोर संकलन गरी जनतालाई सही ठाउँमा फोहोर फाल्न र डस्टबिनको उपयोग गर्न प्रेरित गरे।
कार्यक्रममा बुल्स एलेभेन क्लब, तामाङ घेदुङ संघ, नगर प्रहरी, युवा तथा महिला समूह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले हातमा ब्यानर, झोला, मास्क र पञ्जा लगाएर सरसफाइ गरेका थिए। यस्तो समन्वयात्मक प्रयासले समुदायमा सफाइप्रतिको चेतनाको स्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरू पनि कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिँदै आगामी दिनहरूमा पनि यस्ता अभियान निरन्तर चलिरहोस् भन्ने चाहना व्यक्त गरे।
यो अभियानले केवल डस्टबिन वितरणमै सीमित नभई सरसफाइलाई सामूहिक जिम्मेवारी बनाउने सन्देश दिएको छ। कार्यक्रम सम्पन्न भएपनि यसको प्रभाव दीर्घकालीन रूपमा समुदायमा देखिने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।


