सुन्दरहरैंचा | मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसको आयोजनामा शनिबारदेखि सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन विविध कार्यक्रमसहित सम्पन्न भएको छ। विभिन्न देशका शिक्षा विज्ञ, विश्वविद्यालयका उपकुलपति, डिन, प्राध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको यस सम्मेलनलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय शैक्षिक जमघटका रूपमा लिइएको छ।

सम्मेलनको औपचारिक उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गरेका थिए। उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले राखेका थिए भने सम्मेलन आयोजक समितिका कन्भेनर गुणराज नेपालले सम्मेलनको उद्देश्य, आवश्यकता र औचित्यबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए। उद्घाटन सत्रको सभापतित्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले गरेका थिए। कार्यक्रमको सञ्चालन उषाकिरण वाग्लेले गरेकी थिइन्।

उद्घाटन सत्रपश्चात आयोजित 'किनोट स्पिच' मा नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, भारतको आसाम डाउन टाउन युनिभर्सिटीका उपकुलपति प्रा.डा. नारायणचन्द्र तालुकदार तथा काठमाण्डौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुईँटेलले मुख्य विचार प्रस्तुत गरेका थिए। उनीहरूले शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धानको सम्भावना, नवप्रवर्तन र वर्तमान शैक्षिक चुनौतीहरूबारे आफ्नो धारणा राखेका थिए।

सम्मेलनको पहिलो दिन चारवटा छुट्टाछुट्टै समूहमा ‘प्लेनरी सेसन’, ‘वर्कसप’ र ‘समानान्तर सत्र’ सञ्चालन गरिएको थियो। अङ्ग्रेजी समूहतर्फ अमेरिकी दूतावासका क्षेत्रीय अङ्ग्रेजी भाषा विशेषज्ञ रोजर कोहेनले सहभागी प्राध्यापक र विद्यार्थीहरूबीच कार्यशाला सञ्चालन गरेका थिए। यस समूहमा हरिप्रसाद बस्याल, सूर्यप्रसाद ढकाल, दुर्गानाथ रेग्मी, टिकाराम भट्टराई, इन्द्रबहादुर क्षेत्री, राम चौधरी, तोर्णराज पौडेल र युवराज सुवेदीले आफ्ना प्राज्ञिक कार्यपत्र प्रस्तुत गरेका थिए।

शिक्षा तथा मानवीकी समूहमा मनमोहन टेक्निकल विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुयालले प्लेनरी स्पिच दिएका थिए। यस समूहमा सूर्यप्रसाद चम्लागाईँ, दिलबहादुर राहुत र विश्वविद्यालय अनुदान आयोगका नारायणप्रसाद भण्डारीले पनि आफ्ना अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए।

विज्ञान, प्रविधि तथा गणित समूहबाट प्रा.डा. देवेन्द्र अधिकारीले प्लेनरी सत्रमा बोल्दै वर्तमान समयको वैज्ञानिक अनुसन्धानको आवश्यकता र चुनौतीबारे प्रकाश पारे। सो समूहमा अमेरिकी फुलब्राइट स्कलर एलिजावेथ टेबर, अरुणकुमार श्रेष्ठ, डा. दिव्यराज दाहाल र सन्देश भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए।

व्यवस्थापन समूहतर्फ विश्वविद्यालय अनुदान आयोगकी ममता प्रजापति, त्रिलोचन सिटौला, शिलु कार्की, बासुदेव खनाल तथा सीताराम खतिवडाले आफ्नो कार्यपत्र मार्फत व्यवस्थापन शिक्षाको आधुनिक अभ्यास, समस्याहरू तथा सम्भावनाबारे चर्चा गरेका थिए।IMG_20250420_141107

कार्यक्रमको उत्तरार्धमा कृषि तथा वन विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शारदा थपलियाले विशेष किनोट स्पिच दिएकी थिइन्। उनले शैक्षिक अनुसन्धान र सहकार्यको माध्यमबाट ग्रामीण विकास र वातावरणीय सन्तुलनको सुदृढीकरण गर्न सकिने धारणा राखिन्।

त्यसपछि आयोजित प्यानल छलफलमा प्रा.डा. बासुदेव काफ्लेले मोडरेटरको भूमिका निर्वाह गरेका थिए भने प्यानलिस्टका रूपमा प्रा.डा. तीर्थराज खनियाँ, थाइल्याण्डको शाङ्क्ला विश्वविद्यालयकी डा. अपराडि लिम र पोल्याण्डका डा. माइकल अपोलोले सहभागिता जनाएका थिए। प्यानल छलफलमा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य, नवप्रवर्तन, डिजिटल प्रविधिको उपयोग र शैक्षिक नीति सुधारका सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो।

सम्मेलनको पहिलो दिनको अन्त्यमा सुकुना क्याम्पसका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमहरूले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। नेपाली कला, संस्कृति र परम्परालाई झल्काउने प्रस्तुतिहरूले सम्मेलनको वातावरणलाई अझ आकर्षक बनाएको थियो।

सम्मेलन आयोजक समितिका प्रमुख तथा सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालका अनुसार दोस्रो दिनको कार्यक्रम अझ विविध र समृद्ध भएको थियोे । सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीचको सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा अनुसन्धानको नयाँ सम्भावनाहरूको खोजी हुने विश्वास लिइएको छ।

IMG_20250420_161953