भोजपुर | भोजपुरको हतुवागढी गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुक्त पालिकाको रूपमा घोषणा गरिएको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा पालिका अध्यक्ष प्रेमकुमार राईले औपचारिक रूपमा प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरे।
कार्यक्रममा अध्यक्ष राईले खोप कार्यक्रम बालबालिकाको जीवित रहने अधिकार र मातृ स्वास्थ्य सुरक्षासँग जोडिएको उल्लेख गर्दै, लोकतन्त्र दिवसको अवसर पारेर यस्तो ऐतिहासिक घोषणा गरिएको जानकारी दिए। उनले खोप सुनिश्चितताका लागि स्थानीय स्तरको स्वामित्व र सहभागिता अपरिहार्य रहेको पनि बताए।
‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता’ भन्ने नारासहित आयोजित कार्यक्रममा हतुवागढी गाउँपालिकाभित्रका सबै ९ वटा वडाका ३०२ जना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक १३ प्रकारका खोप लगाइएको जनाइएको छ।
स्वास्थ्य शाखा प्रमुख जयकुमार राईका अनुसार, खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरू वडावार घर–घर पुगेर १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिना उमेरभित्र दिइने सबै खोपहरू उपलब्ध गराएका थिए। यस अभियानलाई थप सशक्त बनाउन गाउँपालिकाले नियमित रूपमा बजेट पनि विनियोजन गर्दै आएको छ।
कार्यक्रमको अवसरमा खोप अभियानमा सक्रिय सहभागी स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र तथा स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो।
जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका जनस्वास्थ्य निरीक्षक पशुपति देवका अनुसार, वैशाख मसान्तसम्म भोजपुर जिल्लाका सबै पालिकाहरूलाई पूर्ण खोपयुक्त घोषणाको लक्ष्यका साथ काम भइरहेको छ। हाल साल्पासिलिछो गाउँपालिका र भोजपुर नगरपालिका पनि अन्तिम चरणमा रहेका छन्।