इटहरी । इटहरीस्थित जनता माविमा पठन पाठन सुरु भएको छ । २८ जना स्थायी शिक्षकहरु आन्दोलनमा गएपनि निजी स्रोतबाट तलब लिने १४८ शिक्षक शिक्षिकाहरुबाट अध्यापन सुरु गरिएको इटहरी ९ का वडाध्यक्ष जितेन थापाले जानकारी दिए ।
शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा झैं जनता माविमा पनि पठन पाठन सुरु हुन सकेको छैन । पठनपाठन सुरु नहुँदा निजी विद्यालयसँग प्रतिष्पर्धा गरिरहेको जनता माविमा त्यसको असर देखिइसकेकोले कक्षा सुरु गर्न लागिएको उनले बताए । उनका अनुसार भौतिक उपस्थितीमै पढाउने, त्यो सम्भव नभए अनलाइन भएपनि कक्षा सुरु गरिनेछ ।
अझै केही दिन विद्यालय अवरुद्ध हुने हो भने विद्यार्थीहरु निजीतिर जाने सम्भावना बढ्यो, उनले भने, त्यसैले भोलि अविभावक र विद्यार्थी भेला भएर पठनपाठन पनि सुरु गर्छौं साथै एउटा निर्णय गरेर अघि बढ्छौं । उनका अनुसार अविभावकहरुबाट पढाइ सुरु गर्नुपर्ने दबाब आइरहेको छ भने आन्दोलनमा गएका स्थायी शिक्षकहरुले विद्यालय सुरु नगर्न दबाब दिइरहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष काशीनाथ दंगालले पनि अविभावकहरुलाई आफ्ना बालबालिका पठाउन अनुरोध गरेका छन् । औपचारिक निर्णय नगरेपनि मंगलबार विद्यार्थी र अविभावक भेला भएर कक्षा सुरु गरिने उनले जानकारी दिए ।
दंगालले सामाजिक सञ्जालबाट कक्षा नियमित सञ्चालन गर्न आह्वान गरेका छन् । बिहान ६ः३० देखि स्कुल बस सञ्चालन गरी पुर्ववत् अध्ययन अध्यापन सुचारु गराउने गरी अविभावकहरुबिच छलफल भएको उनले जानकारी गराएका छन् । उनले भने, ‘निकै दुःखले जनता माविलाई निजी विद्यालयको प्रतिष्पर्धी र उत्कृष्ठ शैक्षिक संस्था बनाएका छौं, त्यसलाई कायम राख्न भएपनि अध्यापन सुचारु गराउने बारेमा छलफल भएको छ ।’
जनता मावि विगत पाँच वर्षमा आफ्नो पुर्वाधार र शैक्षिक स्तर सुधार गरेर स्तरीय सामुदायिक शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल विद्यालय हो । निजी विद्यालयहरुका विद्यार्थीहरु अहिले जनता माविमा अध्ययन गर्नका लागि प्रवेश परिक्षा दिने गरेका छन् ।
शैक्षिक वातावरणमा अवरोध जारी रहँदा एकातिर विद्यालयको शाखः गुम्ने र अर्कोतिर विद्यार्थीहरुको शिक्षा प्रभावित हुने भएपछि अविभावकहरुले नै यस्तो निर्णय लिएको दंगालले जानकारी दिएका छन्।
स्थायी शिक्षकहरुले सम्पूर्ण शैक्षिक क्रियाकलाप रोकेर आफूहरुलाई सहयोग गर्न विद्यालयहरुलाई दबाब दिँदै आएका छन् । कतिपय विद्यालयका प्रवेश परिक्षामा समेत शिक्षकहरुले अवरोध गरेका थिए । आन्दोलन लम्बिँदै जाँदा विद्यालय शिक्षा प्रभावित भएको भन्दै त्यसको विरोध सुरु भएको हो ।