सुबास घिमिरे। काठमाडौं। पुर्ब महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पाकिस्तानबीचको सम्भावित द्वन्द्वको सन्दर्भमा नेपालको तटस्थ भूमिका खेल्नु पर्ने बताउनु भएको छ । आज प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै पुर्ब मन्त्री चौधरीले त्यस्तो बताउनु भएको हो ।
पुर्ब मन्त्री चौधरीले भन्नुभयो:- भारत र पाकिस्तानबीच उत्पन्न हुन सक्ने कुनै पनि प्रकारको सैन्य द्वन्द्वको सन्दर्भमा नेपालले आफ्नो दीर्घकालीन स्वतन्त्र, स्वतन्त्रतापूर्ण र तटस्थ परराष्ट्र नीतिको पालना गर्दै संयमित तथा तटस्थ भूमिका निर्वाह गर्न आवश्यक छ। शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र मित्रवत सम्बन्धमा आधारित नेपालको परराष्ट्र नीति कुनै पनि पक्षको पक्षपात नगरी, द्वन्द्वको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्छ।
ऐतिहासिक, भौगोलिक र राजनीतिक दृष्टिले भारत र पाकिस्तान दुबैसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने नेपालका लागि तटस्थता मात्र नीति होइन, आवश्यकताको विषय पनि हो। यस सन्दर्भमा नेपालले क्षेत्रीय शान्ति, स्थायित्व र सहकार्यलाई प्राथमिकता दिँदै कुनै पनि अन्तर्राष्ट्रिय वा क्षेत्रीय द्वन्द्वमा हस्तक्षेप नगर्ने स्पष्ट नीति अवलम्बन गर्नुपर्छ।
पछिल्ला घटनाक्रमले भारत–पाकिस्तानबीचको सम्बन्ध पुनः तनावग्रस्त बन्दै गएको छ। सन् २०१९ को पुलवामा घटनापछि दुवै मुलुकबीच भएको बालाकोट एयर स्ट्राइक र त्यसपछिको सैन्य गतिविधिको पुनः दोहोरिने खतरा विश्लेषकहरूले औंल्याएका छन्। यस्तो पृष्ठभूमिमा नेपालको संयमितता र शान्तिको पक्षमा लिइएको अडानले क्षेत्रीय सन्देश बोक्ने विश्वास गरिएको छ।
भारत र पाकिस्तानबीचको तनाव कुनै पनि बेला गहिरिन सक्ने खतरा रहेको र त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव अन्य दक्षिण एशियाली मुलुकहरूमा समेत पर्न सक्ने देखिन्छ। यस्तो अवस्थामा नेपालजस्तो शान्तिप्रेमी राष्ट्रले तटस्थता अपनाउनु कूटनीतिक हिसाबले उपयुक्त कदम भएको विश्लेषण गरिएको छ।
नेपालले विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वमा तटस्थ भूमिका निर्वाह गर्दै आएको छ, जसले उसको असंलग्न परराष्ट्र नीति प्रतिवद्धतालाई स्पष्ट पार्दछ।