इटहरी – नेपाल तरुण दल इटहरी उप-महानगरपालिका समितिको आयोजनामा  इटहरी उप-महानगरपालिका वडा नं. १८, डकाहा स्थित पञ्चायत आधारभूत विद्यालयको प्राङ्गणमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न गरिएको छ।

सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजित यस शिविरमा अरविन्द आई केयर, खनारा र बी एण्ड बी डेन्टलको प्राविधिक सहयोग रहेको थियो। शिविरमा २०० भन्दा बढी स्थानीय बासिन्दाहरूले आँखा तथा दन्त परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा कतिपय बिरामीलाई थप उपचार तथा शल्यक्रियाको परामर्शसमेत दिइएको आयोजकहरूले जनाएका छन्।

कार्यक्रमको सफलतामा खुसी व्यक्त गर्दै नेपाल तरुण दल इटहरी उप-महानगरपालिका कार्यसमितिका अध्यक्ष अनीश (सुवेदी) गोरेले सामाजिक सेवाका यस्ता अभियानहरू निरन्तर जारी राखिने प्रतिबद्धता जनाएका छन्। उहाँले भने, “सामाजिक अभिभारा हाम्रो पहिलो कर्तव्य र चाहना हो। यस्ता स्वास्थ्य शिविरहरू इटहरी उप-महानगरका सम्पूर्ण वडामा विस्तार गर्दै लैजाने हाम्रो योजना छ।”

स्थानीय बासिन्दाहरूले पनि यस्ता शिविरहरूबाट लाभ उठाउन पाएकोमा धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ व्यापक रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्।

नेपाल तरुण दलले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय क्रियाकलापहरू गर्दै आएको उपाध्यक्ष मनिष चौधरी (थोप्स)ले जानकारी दिनुभयो । स्वास्थ्य, शिक्षा र जनचेतनाका क्षेत्रमा सक्रिय दलको युवाशक्ति सशक्त रूपमा अघि बढिरहेको आयोजकहरूको भनाइ छ।

स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ आयोजित यस शिविरले स्थानीयमा सकारात्मक सन्देश पुर्‍याएको छ । आयोजकहरूले आगामी दिनहरूमा नियमित रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै समुदायसँगको सम्बन्ध अझ मजबुत बनाउने छ ।