इटहरी । रामधुनी नगरपालिका वडा नं. १ झुम्कामा स्थापना गरिएको ‘झुम्का आधारभूत अस्पतालको सोमबार उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नगर प्रमुख शकरलाल चौधरी र उप–प्रमुख तारा थापाले संयुक्त रूपमा अस्पतालको उद्घाटन गर्नुभएको थियो । दैनिक जीवनमा स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा समस्या भोग्दै आएका स्थानीय बासिन्दालाई लक्षित गर्दै स्थापना गरिएको उक्त अस्पतालले अब देखि नियमित रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिकाले जनाएको छ । “स्वास्थ्य जस्तो आधारभूत सेवाका लागि नगरबासीलाई टाढा जानू पर्ने समस्या समाधान हुने नगर प्रमुख चौधरीले बताउनु भयो । रामधुनी नगरपालिकाभित्र स्वास्थ्य सेवा र बीमा सुविधा प्रभावकारी रूपमा सञ्चालन नभएको गुनासो व्यापक रहेको छ त्यो समस्य चाडैं समाधान हुने नगरपालिकाका उपप्रमुख तारा थापाले बताउनु भयो । अस्पतालका प्रमुख डा. सैयन कोइरालाले अस्पताल मार्फत मातृस्वास्थ्य, बालस्वास्थ्य, सामान्य उपचार, खोप, परामर्श सेवा लगायतका नियमित सेवा प्रदान गरिने जानकारी दिनुभयो । साथै, आवश्यकता अनुसार विशेषज्ञ सेवा पनि विस्तार गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी, पूर्व वडा अध्यक्षहरू, स्थानिय राजनीतिक तथा सामाजिक व्यक्तित्वहरू, स्वास्थ्यकर्मी र स्थानीय नागरिकको उपस्थिति रहेको थियो । “अहिलेसम्म सानो समस्याका लागि पनि इटहरी वा धरान जानुपथ्र्यो । अब अस्पताल नजिकै खुलेपछि सहज हुने दैया कुमारी दासले बताउनु भयो । नगरपालिकाले आगामी दिनमा अस्पतालको संरचना र सेवा विस्तार गर्दै लैजाने तथा डिजिटल प्रविधिको प्रयोग मार्फत सेवा प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ ।