इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकाका ९ जना नागरिकमा कालाजार संक्रमण पुष्टि भएको छ । वैशाख लागेपछि यहाँका वडा नम्वर ४,५ र ७ मा गरी ५ र अघिल्लो साउनदेखि चैतसम्म ४ गरी ९जनामा कालाजार संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखमा संक्रमण पुष्टि भएकोमा वडा नं ४ का १ साथै वडा नं ५ र ७ मा २–२ गरी ५ जना नागरिक हुनुहुन्छ । कालाजार ’स्याण्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ । एकपटक संक्रमित व्यक्तिलाई टोकेपछि, सोही भुसुनाले अन्य व्यक्तिलाई टोक्दा रोग सर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण प्रमूख गोकर्ण दाहालले जानकारी दिनुभयो।
संक्रमणको दर बढ्न थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा जिल्ला स्वास्थ्य कार्यालयबाट विज्ञ टोली खटिएको छ । प्रभावित क्षेत्रका घर र आसपास करिब १०० मिटर क्षेत्रभित्र भुसुना नाशक विषादी छर्ने अभियान सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले बताउनुभयो । प्रभावित क्षेत्रमा किटनासक औषधी छर्ने, संक्रमितको निःशुल्क उपचार तथा औषधी वितरण, साथै उपचारका क्रममा लाग्ने यातायात खर्च वापत दुई हजार रुपियाँ र थप परीक्षण आवश्यक परे पाँच हजार रुपियाँसम्म सहयोग प्रदान गरिँदै आएको छ ।


