सुनसरी / नेकपा एमाले, विज्ञान तथा प्रविधि विभाग, कोशी प्रदेशको आयोजनामा आगामी जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ । 

कोशी प्रदेशका १४ वटै जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

ज्ञान र प्रविधिमा विद्यार्थीहरूको चासो, अनुसन्धान र सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा विविध वैज्ञानिक मोडेलहरू, आविष्कारहरू, नवप्रवर्तन तथा अनुसन्धानमूलक प्रोजेक्टहरू प्रस्तुत गरिने नेकपा एमाले कोशी प्रदेश, विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोख्रेलले बताउनुभयो।

Screenshot_2025_0517_163219

एक लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनीमा प्रथम पुरस्कार ४ लाख, दोस्रो ३ लाख, तेस्रो २ लाख, सान्त्वना पुरस्कार १ लाख र २५ उत्कृष्ट प्रदर्शनीलाई २५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिनेछ । विद्यार्थीको वैज्ञानिक सोच, अनुसन्धान र सिर्जनात्मक क्षमतालाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताउनुभयो ।

 यो प्रदर्शनीका लागि सामग्री तयार गर्ने अन्तिम मिति जेठ ५, नाम दर्ता जेठ ६, जिल्ला छनोट जेठ ८ र ९ र अन्तिम नामावली पेश गर्ने मिति जेठ ११ गते तोकिएको छ ।

Screenshot_2025_0517_163235

विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान क्षमता र सिर्जनात्मक प्रवृत्तिको विकास गर्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको नेकपा एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्षुमण तिवारीले बताउनुभयो।