इटहरी । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीए कार्यक्रम अन्तर्गत इटहरीस्थित कस्तुरी कलेजकी छात्रा निशा शेर्पाले नेपालभर  पहिलो स्थान हासिल गर्नुभएको छ । सम्मान समारोहको प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. उत्तम रेग्मी रहनुभएको थियो भने कलेजका अध्यक्ष प्रा. डा. केदार प्रसाद पौडेलले कार्यक्रमको अध्यक्षता गर्नुभएकोे थियोे । प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. उत्तम रेग्मीले निशा शेर्पाको परिश्रम र सफलता प्रशंसा योग्य भएको भन्दै आगामी दिनमा अझ उच्च उपलब्धिको शुभकामना व्यक्त गर्नु भयो । कलेजको लक्ष्य केवल स्नातक उत्पादन गर्नु मात्र नभई जिम्मेवार र सक्षम नागरिक निर्माण गर्नु रहेको कलेजका अध्यक्ष प्रा. डा. केदार प्रसाद पौडेलले बताउनुभयो । कस्तुरी एकेडेमीका प्रिन्सिपल भूपेन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्दै अघिल्ला वर्षहरुमा सफल भएका विद्यार्थीहरूको स्मरण गर्नुभयो । उहाँले सन् २००८ देखि २०१२ सम्म अध्ययन गरेकी सन्चिता कोइरालाले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवबाट सम्मान प्राप्त गरेको र सन् २०१२ देखि २०१६ सम्मकी सार्थिका तोदीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान ग्रहण गरेको उल्लेख गर्नुभयो ।

494572362_1038832117746316_15869400155357432_n

साथै, उहाँले हाल निशा शेर्पाले गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणपत्र प्राप्त गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । सम्मान समारोहमा निशा शेर्पा स्वयंले भावुक हुँदै आफ्नो सफलताको श्रेय कलेज, शिक्षकहरू र सहपाठीलाई दिनुभयो । कार्यक्रम पश्चात् कस्तुरी कलेजका प्राचार्य प्रेमप्रसाद न्यौपानेले सफलताको मूल आधार विद्यार्थीको परिश्रम, कलेजको समर्पित टिम र अभिभावकहरूको साथ रहेको बताउनुभयो । कस्तुरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कमलेश शर्मा पौडेलले शिक्षालाई जीवनका आदर्श निर्माण गर्ने प्रक्रिया भन्दै निशा शेर्पाले त्यसको उत्कृष्ट उदाहरण पेश गरेको बताउनुभयो । कलेजकी छात्राले नेपालभरि प्रथम स्थान हासिल गर्नु कलेजका लागि गर्वको विषय भएको कलेजका सिनियर कोअर्डिनेटर द्रोण न्यौपानेले बताउनुभयो । सम्मान समारोहमा कलेजका प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।