इटहरी– गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले इटहरीले बुधबार बिहान एक विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम इटहरी उपमहानगरपालिका अगाडि बिहान ७ बजेदेखि सुरु हुने पार्टीका अतिरिक्त क्रियाकलाप संयोजक तथा नगर सचिवालय सदस्य उमेश दाहालले जानकारी दिएका छन्।
उनका अनुसार नगरका विभिन्न टोलटोलबाट रक्तदाताहरू सहभागी हुने अपेक्षा गरिएको छ। दाहालले बताएअनुसार रक्तदाताहरूका लागि विभिन्न सुविधाहरूको व्यवस्था गरिएको छ। सहभागी हुने प्रत्येक रक्तदातालाई निःशुल्क स्वास्थ्य परीक्षण, विराट टिचिङ्ग अस्पतालमा उपचारमा विशेष छुट, रक्तदान प्रमाणपत्र तथा २ केजी चामलको प्याकेट उपहारस्वरूप प्रदान गरिनेछ।
त्यस्तै नेकपा एमाले इटहरी उपमहानगर अध्यक्ष रुपेश बस्नेतलेले सबै नगरवासीलाई रक्तदानमा सहभागिता जनाई मानवीय सेवामा योगदान दिन आह्वान गरेका छन्। उनले भने, “तपाईंको एक पाइलाले कसैको जीवन बच्न सक्छ। आउनुहोस्, रक्तदान गरौं – जीवन बचाऔं।”
रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाहसँगै गणतन्त्र दिवसलाई थप अर्थपूर्ण बनाउन योगदान दिने आयोजकको विश्वास छ।


