सुनसरी | सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा “उपमेयरसँग बालबालिका” शीर्षकको विशेष कार्यक्रम आयोजना गरिएको छ। बालबालिका तथा किशोर–किशोरीहरूको सहभागिता र सशक्तिकरणमा योगदान पु¥याउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम रामधुनी नगरपालिका वडा नम्बर ६ अन्तर्गत रहेको आदर्श माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा रामधुनी वडा नम्बर ६ र ७ का विद्यालयहरूबाट सहभागिता जनाएका बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम रामधुनी नगरपालिकाको आयोजनामा, नमुना नगर बाल सञ्जाल बक्लौरी, वडा बाल सञ्जाल तथा अनमोल बाल सञ्जालको संयुक्त सहकार्य र समन्वयमा सम्पन्न गरिएको हो।
कार्यक्रमको अध्यक्षता बक्लौरी वडा बाल सञ्जालका अध्यक्ष हिमोन चौधरीले गर्नुभएको थियो भने प्रमुख आतिथ्य रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाले ग्रहण गर्नुभएको थियो। कार्यक्रममा उपमेयर थापाले बालबालिकाको भूमिका, अधिकार, र उनीहरूको सशक्तिकरणबारे आफ्ना धारणा प्रस्तुत गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। साथै, उहाँले स्थानीय तहले बालमैत्री नीतिहरू कार्यान्वयन गर्न प्रयत्नशील रहेको जानकारी समेत दिनुभयो।
कार्यक्रमका प्रमुख वक्ता अध्यक्ष हिमोन चौधरीले बालसञ्जालहरूको भूमिका, बालबालिकाका समस्या र अवसरबारे प्रकाश पार्नुभयो। उहाँले बाल सञ्जालको नेतृत्वमा गरिएको प्रयासहरूले बालबालिकालाई आत्मविश्वासी बनाउँदै आएको उल्लेख गर्नुभयो।
उक्त अवसरमा रामधुनी नगरपालिका वडा नम्बर ७ का कार्यबाहक अध्यक्ष वासुदेव माझी, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक रवीन्द्र पौडेल, नगरपालिका कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शिक्षकहरू, अभिभावकहरू तथा विभिन्न बाल सञ्जालका प्रतिनिधिहरूको पनि सक्रिय उपस्थिति रहेको थियो।
“उपमेयरसँग बालबालिका” कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधि र बालबालिकाबीचको प्रत्यक्ष संवादलाई प्रवर्द्धन गर्न सहयोग पुर्याएको छ। यस्तो खालका कार्यक्रमले बालमैत्री समाज निर्माणमा सहयोग पुग्ने आयोजकहरूको विश्वास छ।