सुनसरी | इटहरी उपमहानगरपालिका–१६ मा रहेको सरस्वती जब्दी माध्यमिक विद्यालय परिसरमा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जना भन्दा बढी स्थानीयवासीले स्वास्थ्य सेवा लिएका छन्।

शिविरको आयोजना किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि., इटहरी–१६ बालग्रामले गरेको हो भने समता युथ ग्रुप र समता गुप्त रोग स्वास्थ्य सेवा संस्था, विराटनगरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। साथै, इटहरी उपमहानगरपालिका–१६ र १७ को संयुक्त सहकार्यमा यो शिविर सफलतापूर्वक सम्पन्न भएको हो।

शिविरमा सहभागी भएका विशेषज्ञ चिकित्सकहरूको टोलीले पाइल्स (अर्श), फिस्टुला, फिसर, हाइड्रोसिल, गाठागुठी लगायत गुप्त रोगहरूको पहिचान गरी औषधीय उपचार र आवश्यक परामर्श प्रदान गरेका थिए। यस्ता समस्याको उपचारका लागि शिविरमा सहभागी हुनेहरुलाई विशेष छुटको व्यवस्था समेत गरिएको थियो। आयोजकका अनुसार, यस्ता रोगहरूको उपचारमा ५० प्रतिशत छुट सुविधा प्रदान गरिएको थियो।

स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञहरूको टोलीद्वारा महिलामा देखिने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर लगायत विभिन्न स्त्रीरोगहरूको परीक्षण, परामर्श र प्राथमिक उपचार पनि गरिएको थियो। महिलाहरूमा बढ्दो स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै उनीहरूलाई प्राथमिकता दिई सेवा प्रदान गरिएको कार्यक्रम संयोजक राजिव बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय महिलाहरूको सक्रिय सहभागिता र उत्साहजनक उपस्थिति उल्लेखनीय रहेको बताउनुभयो।

शिविरमा सहभागी स्थानीय महिला अनिता लुइँटेलले यस्तो सेवा पहुँचबाट टाढा रहेका समुदायका लागि निकै सहयोगी हुने बताउँदै स्वास्थ्य सुविधा घरमै पाउँदा अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिनुभयो। “हामी जस्ता सर्वसाधारणका लागि यस किसिमको शिविर निकै उपयोगी हुन्छ। नियमित स्वास्थ्य परीक्षण गर्ने अवसर पाउन सकिँदैन। यस्ता कार्यक्रमले हामीलाई सचेत र सजग बनाउँछ,” लुइँटेलले भन्नुभयो।

किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शालिकराम ढकालले सहकारीले केवल आर्थिक क्षेत्रमा मात्र होइन, सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा सचेतना अभिवृद्धि जस्ता क्षेत्रमा समेत निरन्तर काम गर्दै आएको बताउनुभयो। उहाँले समुदायको जीवनस्तर उकास्न यस्ता स्वास्थ्य शिविरहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

शिविरमा जम्मा  २ सय ५० जनाले ओपिडी सेवा लिएकोमा १४५ जनाको पाठेघरको मुखको क्यान्सर (VIA test) जाँच गरिएकोमा सम्पूर्णको पाठेघर स्वास्थ प्रशिक्षण गरिएको थियो ।

त्यसैगरि १ सय ४ जनालाई निशुल्क औसधी वितरण गरिएको, २५ जनालाई ल्याव सेवा प्रदान गरिएको, ७९ जनालाई गुप्त रोग सम्बन्धि पायल्स , फिस्टुला, हाइड्रोशिल र गाँठागुठी निशुल्क चेक जाँच गरि २५ जनाको लाइगेसन विधिबाट उपचार गरिए‌को समता युथ ग्रुप तथा समता गुप्तरोग सेवा संस्था विराटनगरका कार्यक्रम संयोजक राजिव वस्नेत‌ले जानकारि दिनु‌भयो ।

त्यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले संस्थाले समुदायमै पुगेर सेवा दिने उद्देश्यले विभिन्न किसिमका निशुल्क शिविरहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य शिविरका साथै शिक्षा, स्वच्छता, सीपमूलक तालिम र अन्य सामाजिक कार्यक्रम पनि संस्थाले गर्दै आएको उल्लेख गर्नुभयो।

एक दिने यो शिविरले खासगरी आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरूलाई लक्षित गरी प्रभावकारी सेवा प्रदान गरेको आयोजकहरूको भनाइ छ। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जनताको घरदैलोमा सेवा पुर्याउने योजना रहेको समेत जानकारी दिइएको छ।