सुन्दरहरैँचा – मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ६ मा उपभोक्ताहरूका हकहित, अधिकार र सजगता वृद्धिका लागि लक्षित गर्दै "उपभोक्ता सचेतना कार्यक्रम" सम्पन्न गरिएको छ। प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि. सुन्दरहरैँचा र सुन्दरहरैँचा नगरपालिका कार्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उपभोक्ताहरूले भोग्दै आएका समस्याहरू, उपभोक्ता कानुन, बजारमा हुने अनियमितता तथा यसको समाधानका उपायबारे विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रम प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि. का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता तथा नगरपालिकाकी उपप्रमुख अकली कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका जनप्रतिनिधिहरू, वडा अध्यक्ष, वडा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा स्थानीय उपभोक्ताहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

कार्यक्रममा मानव अधिकार सञ्चाल, सुनसरीका संयोजक रमेश भट्टराईले प्रशिक्षण दिनुहुँदै उपभोक्ता अधिकारका आधारभूत पक्षहरू, कानुनी संरक्षणका उपायहरू, बजार अनुगमन प्रणाली कसरी प्रभावकारी बनाउने, गलत तथा म्याद नाघेका वस्तुहरूको पहिचान कसरी गर्ने र यस्ता वस्तुको उपभोगबाट बच्न के कस्ता सावधानी अपनाउने भन्ने विषयमा तथ्यपरक तथा व्यवहारिक जानकारी प्रस्तुत गर्नुभयो। उहाँले उपभोक्ताहरू आफैँ सचेत भए मात्र बजार प्रणाली सुधार हुन सक्ने र व्यवसायिक नैतिकता कायम रहन सक्ने धारणा व्यक्त गर्नुभयो।IMG_20250603_115743

कार्यक्रममा सहभागी स्थानीय बासिन्दा शोभा दर्जीले यस्त खालको कार्यक्रमले आफूहरूलाई धेरै कुरा सिकाएको बताउँदै भनिन्, "हामी प्रायः उपभोक्ताका रूपमा धेरै चिज नबुझी सामान किन्ने गर्छौं, तर यस्ता कार्यक्रमले सचेत बनाउँछ र हाम्रा हकअधिकार बुझ्न सहयोग पुर्‍याउँछ। अब म सामान किन्दा म्याद, मूल्य, गुणस्तर जस्ता कुरामा ध्यान दिनेछु।"

उपप्रमुख अकली कुमारी चौधरीले आफ्नो मन्तव्यमा उपभोक्तालाई सचेत बनाउने यस्ता कार्यक्रमको आवश्यकता झनै बढिरहेको बताउँदै आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकार उपभोक्ताको हितमा सदैव क्रियाशील रहेको र बजार अनुगमन तथा नियमनमा थप कडाइ गरिने जानकारी दिनुभयो।IMG_20250603_134727

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष लिङदेन, योजना प्रशासन तथा अनुगमन शाखा प्रमुख सञ्जीव पौडेल, कार्यपालिका सदस्यहरू तुना कुमारी विश्वकर्मा, दुर्गा पोखरेल, सुन्दरपुर खानेपानी संस्थाका संस्थापक अध्यक्ष राजु राई,वडा सदस्यहरू शान्ति चौधरी, राजकुमारी चौधरी, वडा नम्बर ६ का वडा सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा स्थानीय उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमले उपभोक्ताहरूमा आफ्नो हक र कर्तव्यप्रति चेतना वृद्धि गराउनुका साथै, स्थानीय तहमा कानुनी सचेतना फैलाउन सकारात्मक प्रभाव पारेको आयोजकको विश्वास छ।IMG_20250603_133227