इटहरी । झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ। आउँदो जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नेकपा ९एमाले० कोसी प्रदेश विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी गर्न लागेको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनी आयोजनाका बारेमा जानकारी दिँदै विभागका प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने अनुमान गरिएको बताए। प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए। कोसी प्रदेशका १२ वटा जिल्लाबाट विद्यार्थीहरूको सहभागिता रहने निश्चित भइसकेको बताइएको छ। प्रदर्शनीमा कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। पाँच सय विद्यार्थीले प्रतिष्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ। विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको यस प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले चार लाख रुपैयाँ, दोस्रोले तीन लाख, तेस्रोले दुई लाख र चौथो हुनेले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यसका साथै अन्य २५ वटा विद्यालयलाई २५ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।