मौसम कोइराला
इटहरी | इटहरीमा विगत दुई दशकदेखि शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन भिसा सर्भिसले सामाजिक उत्तरदायित्वअन्तर्गत रामधुनी नगरपालिका स्थित संखरबेली ताल क्षेत्रमा डस्टबिन वितरण गरेको छ।
एक समारोहबीच संस्था प्रतिनिधिहरूले संखरबेली सामुदायिक वन उपभोक्ता समितिलाई १० थान डस्टबिन हस्तान्तरण गरेका हुन्। वातावरणीय प्रदूषण न्यूनीकरण, फोहरमैला व्यवस्थापन, तथा समुदायमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले सो अभियान सञ्चालन गरिएको हो।
कार्यक्रममा एक्सपर्ट एजुकेसन भिसा सर्भिसका प्रबन्ध निर्देशक कमल तिम्सिनाले पर्यावरण संरक्षणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भन्दै यस्ता साना तर प्रभावकारी पहलले दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “जलवायु परिवर्तन र वातावरणीय जोखिम बढ्दो छ। अहिले नै सचेत नभए भविष्यमा यसको गम्भीर असर पर्न सक्छ। यस्ता कदमहरूले मानिसमा चेतना जगाउने काम गर्छ।”
सङ्खरबेली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घन लिम्बुले संस्थाको पहललाई स्वागत गर्दै वातावरणप्रति उत्तरदायी व्यवहारलाई प्रोत्साहन दिनु आवश्यक रहेको बताउनुभयो। उहाँले थप भन्नुभयो, “संखरबेली ताल क्षेत्र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ। यस क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउन सक्यौं भने दिगो पर्यटन प्रवर्द्धनमा योगदान पुग्छ। यसका लागि समुदाय, स्थानीय सरकार र निजी क्षेत्र सबैको सहकार्य जरुरी छ।”
कार्यक्रममा समितिका सदस्यहरू, स्थानिय युवा समूह, तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले सो क्षेत्रमा डस्टबिनको आवश्यकता लामो समयदेखि महसुस गरिँदै आएको र यो वितरणले दैनिक रूपमा फोहर व्यवस्थापनमा ठोस योगदान दिने प्रतिक्रिया दिएका थिए।
एक्सपर्ट एजुकेसन भिसा सर्भिसले अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत लगायतका मुलुकमा उच्चशिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको छ। साथै, संस्थाले IELTS, PTE लगायतका तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ।
संस्थाले आगामी दिनमा शिक्षा मात्र होइन, वातावरण संरक्षण, महिला सशक्तीकरण, तथा स्थानीय विकासजस्ता सामाजिक क्षेत्रमा पनि सहयोग विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।


