इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिकामा मागमा आधारित व्यवसायिक बाख्रा पालनसम्बन्धी ६ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । तालिमको आयोजना तथा व्यवस्थापन पशु सेवा तालिम केन्द्र, दुहबी सुनसरीले गरेको हो । जेष्ठ २६ गते देखि ३१ गतेसम्म सञ्चालन गरिएको तालिममा स्थानीय कृषकहरूलाई वैज्ञानिक विधिबाट बाख्रा पालनका विविध पक्षमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो । सहभागी कृषकहरूलाई फिल्ड भिजिटका साथै तालिमको अन्त्यमा प्रमाणपत्र पनि प्रदान गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख अर्जुन बहादुर विष्टले जानकारी दिनुभयो ।तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका अरुण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले गाउँपालिकाको विकासको मूल आधार कृषिमा आधारित व्यावसायिक गतिविधि भएको उल्लेख गर्नुभयो । तालिमले उनीहरूको लागि आत्मनिर्भर बनाएको  साथै गाउँमै रोजगारी सिर्जना गर्न मद्दत पुगेको तालिममा सहभागी ज्ञानराज राईले बताउनुभयो । तालिमले कृषकहरूलाई व्यवसायिक स्तरमा बाख्रा पालनतर्फ उन्मुख गराउने र दीगो कृषि प्रणालीको विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको दुहबी पशु सेवा तालिम केन्द्रका प्रशिक्षक कुमार सिंह खत्रीले बताउनुभयो । ६ दिनसम्म सञ्चालन भएको तालिममा वैज्ञानिक बाख्रा पालन, आहार व्यवस्थापन, स्वास्थ्य सरसफाइ, रोग नियन्त्रण, बजार व्यवस्थापन तथा पशु बीमा लगायतका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । पशुपालन जस्ता व्यावसायिक क्रियाकलापहरूले गाउँको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै प्रमुख विष्टले यस्ता तालिमहरूले कृषकहरूलाई व्यवसायमुखी बनाउन प्रेरणा दिने बताउनुभयो । कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरू, कृषी तथा पशुपंक्षी शाखाका कर्मचारीहरू, तालिम प्रशिक्षकहरू तथा स्थानीय पशुपालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।