संखुवासभा | संखुवासभाको मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भई आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरिएको छ। नगरपालिकाको विकास योजना, सामाजिक कार्यक्रम र संस्थागत सुदृढीकरणका लागि सो बजेट ल्याइएको हो।
नगरसभा नगर प्रमुख जीवन लिङ्थेपको अध्यक्षतामा र नगर उपप्रमुख सुनिता भट्टराई दाहालको प्रमुख प्रस्तुतीमा सञ्चालन गरिएको थियो। उपप्रमुख दाहालले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता, जनताको सहभागिता र दीर्घकालीन विकास योजनालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको जानकारी दिनुभयो।
सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, दलित, अपाङ्गता भएका व्यक्तिहरू र वृद्ध जनशक्तिलाई लक्षित कार्यक्रमका लागि २४ करोड १२ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै गुणस्तरीय शिक्षा प्रवाह, डिजिटल माध्यमको प्रयोग र विद्यालय भवन निर्माणलाई पनि बजेटले समेटेको छ।
सडक विस्तार, खानेपानी, सिंचाइ, बत्ती, भवन निर्माण, खेलमैदान तथा अन्य भौतिक संरचनाको निर्माणका लागि १७ करोड ४५ लाख ४४ हजार रुपैयाँ छुट्याइएको छ।
स्थानीय सडक सञ्जाल विस्तार र ग्रामीण भेगसम्म आवागमन सहज बनाउने कार्य प्राथमिकतामा रहेको उपप्रमुख दाहालले बताउनुभयो।
कृषि, पशुपालन, पर्यटन, युवा स्वरोजगार तथा स्थानीय उत्पादन प्रवर्द्धनका लागि १ करोड ८८ लाख २८ हजार रुपैयाँको बजेट व्यवस्था गरिएको छ। स्थानीय कृषि उत्पादनको बजार पहुँच विस्तार र पर्यटन प्रवर्द्धनका लागि योजनाहरू अघि सारिने जनाइएको छ।
नागरिक सेवा प्रवाह, पारदर्शिता, उत्तरदायित्व र जनप्रतिनिधिको क्षमता अभिवृद्धिका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमा सुशासनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सूचना प्रवाह र नागरिक सहभागितालाई समेत जोड दिइएको छ।
कार्यालय सञ्चालन, कर्मचारी सेवा सुविधा, प्रविधि सुधार, नीति निर्माण प्रक्रिया, अनुगमन र मूल्यांकन कार्यका लागि १० करोड ५८ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ।
डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्य बजेटमा समावेश छ।
नगर प्रमुख जीवन लिङ्थेपका अनुसार यो बजेट समावेशी, दिगो र उद्देश्यमुखी छ। “स्थानीय तहको सेवा, सुविधा र आधारभूत पूर्वाधारमा सुधार ल्याउने गरी बजेट तयार पारिएको छ,” उहाँले भन्नुभयो।
यस विधेयकलाई नगर बन व्यवस्थापन तथा विपद् व्यवस्थापन समितिका संयोजक रामबहादुर गुरुङले सभामा पेश गर्नुभएको थियो। यसले स्थानीय बन स्रोतको दिगो उपयोग, संरक्षण र समुदायमा आधारित वन व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखेको छ।
यस विधेयकलाई विधायन समितिका संयोजक नारायणकुमार कार्कीले सभामा प्रस्तुत गर्नुभएको हो। स्थानीय क्षेत्रमा कार्यरत सामाजिक संघ–संस्थाहरूलाई नियमन, दर्ता र सहजीकरण गर्न विधेयक ल्याइएको हो।
यस नगरसभाबाट पारित बजेट र विधेयकहरू मादी नगरपालिकाको समग्र विकास, प्रशासनिक सुधार, सामाजिक समावेशिता र वातावरणीय सन्तुलनमा सघाउ पुर्याउने विश्वास लिइएको छ। सभामा उपस्थित सबै सदस्यहरूले प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै सर्वसम्मत रूपमा पारित गरेका थिए।