भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ४८ करोड ८९ लाख ३६ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँसभाबाट उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक, न्यायिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, विद्युत् लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
उपाध्यक्ष ढकालले सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, र विनियोजन विधेयक २०८२ समेत पेश गर्नुभएको हो। ती विधेयकमाथि विस्तृत छलफल गरी आगामी असार २० गतेभित्र पारित गर्ने सहमति समेत सभाबाट प्राप्त भएको छ। प्रस्तुत नीति तथा कार्यक्रमहरू गाउँपालिकाको समग्र विकास र जनताको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले तयार पारिएको जनाइएको छ।
सभामा बोल्दै गाउँसभाका सभाध्यक्ष शालिकराम खत्रीले सबै सात वडाका वडाध्यक्षहरूले सुशासन, पारदर्शिता र उत्तरदायित्वका साथ कार्य गर्दै आएको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनहरूमा यस्ता गुणस्तरीय कार्यहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै, गाउँपालिकाको सेवा प्रवाहलाई अझ जनमुखी बनाउने प्रतिबद्धता जनाउनुभयो।
सभाध्यक्ष खत्रीले विशेषगरी कृषि क्षेत्रको व्यवसायीकरण, होमस्टे प्रवर्द्धन, मल र बिउमा अनुदानको व्यवस्था, तथा कृषि उपकरण र तालिमका माध्यमबाट स्थानीय किसानलाई सबल बनाउने योजना रहेको जानकारी दिनुभयो। साथै, महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत सबै नागरिकका लागि रोजगार, श्रम तथा सिप विकास कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
उहाँले बालश्रममुक्त गाउँपालिका, पूर्ण खोप सुनिश्चितता, र दिगोपनामा आधारित सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो। युवा सशक्तीकरणका लागि वडास्तरीय तथा पालिकास्तरीय खेलकुद प्रतियोगिता, सिपमूलक तालिम, र स्थानीय उद्यम प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गरिने योजना सार्वजनिक गर्नुभयो।
सभामा प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले गाउँपालिकाको सेवा प्रवाह, सुशासन, पारदर्शिता, बजेट कार्यान्वयन लगायतका विषयमा प्रष्ट जानकारी गराउनुभयो। साथै, उहाँले गाउँसभा सञ्चालनमा सहजीकरण भूमिका पनि निर्वाह गर्नुभएको थियो .।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार निर्माणदेखि सामाजिक न्यायसम्मका विषय समेटिएको समावेशी तथा विकासमुखी नीति प्रस्तुत गरेको छ, जसबाट स्थानीय जनतालाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ।