भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिका सम्पूर्ण घरहरूलाई फुसको छानो हटाउने अभियानलाई प्राथमिकता राखेर बजेट ल्याएको छ ।

मंगलबार बसेको गाउँपालिकाको १८ औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८२/८३ को बजेटमा गाउँपालिका सम्पूर्ण घरहरूलाई फुसको छानो हटाएर जस्ता पाता वितरण गर्ने योजनाका साथ बजेट ल्याएको छ । 

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले नीति तथा कार्यक्रमसहित आर्थिक वर्षका लागि कुल ५७ करोड ८ लाख ५१ हजार ११५ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

गाउँपालिकाले चालु तथा पूँजीगत दुबै प्रकारका खर्चलाई सन्तुलित ढंगले समेट्दै आर्थिक विकास, पूर्वाधार सुदृढीकरण, कृषि उत्पादनमा आत्मनिर्भरता, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सामाजिक समावेशीकरणलाई बजेटको प्रमुख आधार बनाएको छ।

टेम्केमैयुङ गाउँपालिकाले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्डका रूपमा लिँदै बजेटको ठूलो हिस्सा कृषिमा विनियोजन गरेको छ।

पर्यटन क्षेत्रलाई पनि गाउँपालिकाले आगामी आर्थिक वर्षमा विशेष प्राथमिकता दिएको छ। विशेषगरी, किराँत संस्कृतिको प्रतिनिधित्व गर्ने मुन्दुम पदमार्गको थप विकास र विस्तार गर्ने योजना अघि सारिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

सबै वडालाई गाउँपालिका केन्द्रसँग सहज रूपमा जोड्ने गरी सडक स्तरउन्नति गरिने योजना बजेटमा उल्लेख गरिएको छ। प्रमुख सडकहरूको डिपीआर (डिटेल्ड प्रोजेक्ट रिपोर्ट) तयार गरी आगामी वर्षहरूमा व्यवस्थित निर्माण गरिने लक्ष्य लिइएको छ।

सडक कालोपत्रे गर्ने, प्रशासनिक भवन निर्माण गर्ने तथा सौर्य बत्तीको व्यवस्था गर्ने कार्यहरू पनि बजेटमा समावेश छन्। साथै, एकीकृत तथा सुरक्षित बस्ती विकास कार्यक्रम मार्फत आपतकालीन अवस्थाबाट सुरक्षित राख्न सकिने योजना समेत अघि सारिएको छ।

गाउँपालिकाकाले कृषि विकास ,श्रम तथा रोजगार ,शिक्षा, खानेपानी तथा सरसफाइ न्यायिक निरूप ,स्वास्थ सेवा ,भौतिक पुर्वाधार विकास ,पशु पंक्षी विकास ,पर्यटन विकास,महिला विकास लैंगिक समानता र समावेशीकरण,खेलकुद तथा मनोरञ्जन ,सडक पूल भवन तथा ग्रामीण विकास,सञ्चार ,वन वातावरण तथा विपद् व्यवस्थापन ,उर्जा तथा विद्युत ,सुशासन तथा संस्थागत विकास,राजस्व नीति ,बाढी पहिरो लगाएत क्षेत्रहरूलाई नीति तथा कार्यक्रममा समेटेको छ ।