इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले विद्यालय शिक्षाको १० बर्से शैक्षिक योजनासहित स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले ‘हाम्रो सान, चौदण्डीगढीको पहिचान’ भन्ने आदर्श वाक्यसहितको स्थानीय र नगरको आगामी १० बर्से शैक्षिक योजना सार्वजनिक गरिएको हो । चौदण्डीगढी तत्कालीन सेन वंशका राजाले राज्य गरेको ऐतिहासिक महत्व बोकेको आफैँमा एक महत्वपूर्ण स्थल हो । नगरपालिकाको नामकरणसमेत यही ऐतिहासिक गढीकै नामबाट राखिएको छ । नगरपालिकाले सोही ऐतिहासिक गढीको पहिचान स्थापित गर्ने गरी स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको हो ।
स्थानीय पाठ्यक्रम १० बर्से शैक्षिक योजना बेल्टारमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गर्दै कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले पाठ्यक्रमले स्थानीयस्तरमा रहेका भाषा, धर्म, संस्कार, संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यसले भावी सन्ततिलाई नगरभित्रका ऐतिहासिक पूरातात्विक महत्व बोकेका स्थलको पहिचान र संरक्षण एवं संवर्धन गर्न प्रेरित गर्ने बताउनुभयो । उपसभामुख दनुवारले नगरले सार्वजनिक गरेको १० बर्से विद्यालय शिक्षा क्षेत्रको योजनाले आगामी १० वर्षभित्र चौदण्डीगढी नगरपालिकालाई जिल्ला, प्रदेशको मात्रै नभएर देशकै शैक्षिक हबका रूपमा विकास गर्ने गरी काम गर्न सहज हुने बताउनुभयो ।
पाठ्यक्रम तथा १० बर्से विद्यालय शिशा क्षेत्रको योजना पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कालुमान लामाले आफूले चुनावका बेला जनतासमक्ष नगरलाई शैक्षिक हबका रूपमा विकास गर्ने वाचा गरेको र सोही वाचा पूरा गर्न अहिले शैक्षिक योजना निर्माण गरेर सार्वजनिक गर्न आफू सफल भएको बताउनुभयो । नगरप्रमुख लामाले आफू निर्वाचित भएर आएदेखि नगरको शिक्षामा आमूल परिवर्तन गर्ने हुटहुटी जागेको भन्दै सोही हुटहुटीकै कारण १० बर्से विद्यालय शिक्षा क्षेत्रको योजना निर्माण गरिएको बताउनुभयो । उहाँले नगरले विद्यालय शिक्षा क्षेत्रको योजना अनुसार नै स्थानीय पाठ्यक्रम लागु गरेको बताउँदै यसले नगरको पहिचान स्थापना गर्ने दाबी गर्नुभयो ।

