ईटहरी/ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को अफिसियल पोस्टर एकैसाथ देशभरका आठ ठूला सहरमा सार्वजनिक गरिएको छ, जसअन्तर्गत कोशी प्रदेशको इटहरीमा विशेष समारोहसहित पोष्टर अनावरण गरिएको हो । इटहरीको ईलाइट सिनेमा हलको प्राङ्गणमा आयोजित कार्यक्रममा फिल्मका तीन ठूला पोस्टरहरू एकैपटक पर्दा उघारेर सार्वजनिक गरियो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा ६ का वडाध्यक्ष दिवस पोख्रेल, इलाइट सिनेमा हलका म्यानेजर नवराज केसी र परीकला न्यूजका सञ्चालक सुवास संकल्प श्रेष्ठ सहभागी थिए । उनीहरूकै हातबाट औपचारिक रूपमा पोष्टर सार्वजनिक गरिएको हो । पोष्टर अनावरण पश्चात वडाध्यक्ष पोख्रेलले फिल्म टिमलाई सफलताको शुभकामना पनि व्यक्त गरे । पोस्टर सार्वजनिक कार्यक्रम धरान, विराटनगर, विर्तामोड हुँदै काठमाडौँसहित देशभरका आठ सहरमा एकैदिन सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ ।
निर्माता कमल न्यौपानेका अनुसार फिल्मको प्रचार शैलीलाई फरक बनाउन र मोफसलका दर्शकमाझ समेत उपस्थित जनाउन यस्ता कार्यक्रम आयोजना गरिएको हो । पोस्टरको विश्लेषण गर्दा कथावस्तु सम्बन्धका धागोहरूमा केन्द्रित देखिन्छ । दुई फरक डिजाइनमा तयार गरिएका पोस्टरमध्ये एउटा पोस्टरमा विजय बराल, केकी अधिकारी र मिरुना मगर देखिन्छन् । बीचमा विजय, छेउछाउमा केकी र मिरुना छन् । मिरुना बेहुलीको भेषमा छिन् भने विजय आधा रातो र आधा निलो पोशाकमा छन्-जुन केकी र मिरुनासँगको सम्बन्धको प्रतीक हो ।
यसले उनी जातीय परम्परा र व्यक्तिगत प्रेमबीचको द्वन्द्वमा परेको देखिन्छ । अर्को पोस्टरमा धागोले बाँधिएको अवस्थाको केकी अधिकारी छिन्-जुन सामाजिक परिबन्धको प्रतिनिधि दृश्य जस्तो लाग्छ । पोस्टरमा उल्लेख गरिएको संवाद ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ले कथा दिदीभाइ सम्बन्धसँगै निर्णयको समर्थन वा असमर्थनको भाव पनि बोकेको देखिन्छ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउनेछ ।
हिमाल न्यौपाने निर्देशित फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारको अभिनय रहेको छ । कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धरलगायत छन् ।
फिल्मको छायांकन नवीन गुरुङ र कृष्ण परियारले गरेका हुन् भने संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटी छन् । वितरक गोविन्द शाहीको काफिया फिल्मस रहेको यो फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा देखिने अर्को प्रतिक्षित फिल्म हो ।