इटहरी | लायन्स साप्ताहिक कार्यक्रम अन्तर्गत छैठौं कार्यक्रमको रुपमा लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीले इटहरी-५ स्थित  ज्योति माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्रा सिम्रन चौधरीलाई छात्रवृत्ति वितरण गरेको छ ।

कार्यक्रम अन्तर्गत क्लबले छात्रा चौधरीलाई कक्षा १२ सम्म अध्ययन गर्न आवश्यक सम्पूर्ण सामग्री — पाठ्यपुस्तक, कपी, लेखन सामग्री, विद्यालय पोशाक, जुत्ता, मोजा, झोला लगायत अन्य आवश्यक सामग्री — को व्यवस्थापन तथा परिपूर्ति गर्ने भएको छ ।

क्लबकी अध्यक्ष लायन स्मृति सापकोटा भट्टराईका अनुसार सिम्रनलाई निरन्तर शिक्षामा प्रोत्साहित गर्न क्लबले आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन तथा परिपूर्ति गर्ने प्रतिबद्धता जनाएको हो।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी भट्टराईले क्लबद्वारा गरिँदै आएको सामाजिक कार्यको प्रशंसा गर्दै यस प्रकारका सहयोगले विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पार्ने बताए।IMG-20250707-WA0006

उक्त कार्यक्रममा एरिया ४ का ग्याट एरिया चिफ लायन भोजराज दाहाल, एरिया कोअर्डिनेटर लायन टंक फुयाल, विद्यालयका सह-प्रधानाध्यापक, क्लबका निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षसहित विभिन्न लायन पदाधिकारी, विद्यालय परिवार र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीले यसअघि पनि सामाजिक सेवाका विविध क्षेत्रमा सक्रिय सहभागिता जनाउँदै आएको छ।