इटहरी । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बुधबारदेखि विशेष खोप अभियान सुरु गरेको छ । दीर्घरोगी र ५५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध हुनेछ । खोप लगाउने दिन कुनै स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवले बताउनुभयो । पछिल्लो विवरणअनुसार महानगरपालिका क्षेत्रका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । जसले सङ्क्रमणको लहर पुनः सक्रिय हुने सङ्केत गरेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।
विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विराटनगर –२ मा सङ्क्रमण पुष्टि भइसकेका छन् । सङ्क्रमितहरूमा केही सामान्य लक्षण मात्र देखिए पनि समुदायमा सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको महानगरले जनाएको छ । उमेर र स्वास्थ्यका हिसाबले कमजोर समूहमा पर्ने नागरिकलाई सङ्क्रमणबाट जोगाउन खोप अनिवार्य देखिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा। दिलीप यादवले बताउनुभयो । महानगरपालिकाले मास्क प्रयोग गर्न, भिडभाडबाट टाढा रहन, साबुनपानीले नियमित हात धुन तथा आधारभूत स्वास्थ्य सावधानी अपनाउन सबैमा आग्रह गरेको छ । सङ्क्रमण फैलिन नदिन महानगरले ज्वरो, खोकी, नाकबाट पानी बग्ने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा तत्काल चिकित्सकको सम्पर्कमा पुग्न सबैमा आग्रह गरेको छ ।


