इटहरी । दोस्रो तरहरा अर्गानिक १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएसँगै आयव्यय सार्वजनिक गरिएको छ । आयोजक तरहरा रनले पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेको हो । गत फागुन २४ गते तरहरामा १० किलोमिटर दौड प्रतियोगिता भएको थियो । जसमा दुई हजार एक सय ९ जना धावक सहभागी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक क्लबका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार यसपटकको दौड प्रतियोगितामा नौ लाख ८९ हजार ३९९ रुपैयाँ फाइदा भएको छ । 

जसमध्ये सात लाख १५ हजार ३४७ रुपैयाँ भने उठ्न बाँकी रहेको छ । कतिपय संघसंस्था र व्यक्तिले नै रकम दिने वचन दिएपनि दिन बाँकी रहेको उनले बताए । हाल बैँक खातामा तीन लाख ५७ हजार १६ रुपैयाँ रहेको र जसमध्ये एक लाख ५६ हजार एक सय रुपैयाँ तिर्न बाँकी रहेको अध्यक्ष राईले बताए । हालसम्म जम्मा १३ लाख ३५ हजार ६५३ रुपैयाँ उठेको र तिर्न बाँकी रहेको रकम तिर्दा १२ लाख ६२ हजार पाँच सय १७ रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । खासगरी क्बलले खेलाडी उत्पादनलाई जोड दिएको छ । हरेक शनिबार स्कुले विद्यार्थीलाई दौडमा सहभागी गराउँदै आएको र दौडमा प्रोत्साहित गर्दै आएको क्लबले जनाएको छ ।

तरहरा चोकबाट सुरू भएको दौड प्रतियोगिता ब्रम्हपुर, भवानीपुर, अमाहा, कराइबन हुँदै इटहरी १ को वडा कार्यालय नजिकैबाट आँपगाछी निस्किएर पुनः तरहरा चोक नै पुगेपछि १० किलोमिटर दौड पूरा भएको थियो । दौड पूरा गर्ने सबैलाई मेडल प्रदान गरियो भने विजेताहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।