मोरङ | केराबारी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नं. १, २, ३ र ४ अन्तर्गत सञ्चालित ६ वटा विद्यालयमा रहेका बालविकास केन्द्रहरूलाई शैक्षिक, खेलकुद तथा कक्षा कोठा व्यवस्थापनका सामग्रीहरू वितरण गरिएको छ। साथै, अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग सामग्रीहरू पनि प्रदान गरिएको छ।

सो कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा स्थानीय बाल अधिकार समिति र अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक मनमाया मगरको अध्यक्षता र प्रशासन शाखा प्रमुख  नविनराज भट्टराईको आतिथ्यतामा सम्पन्न भएको थियो। 

उपाध्यक्ष मनमाया मगरले कार्यक्रममा बोल्दै पहाडी क्षेत्रमा रहेका विद्यालयहरू र त्यहाँका बालबालिकाहरूलाई गाउँपालिकाको विशेष ध्यान रहँदै आएको बताउनु भयो । सबै क्षेत्रका नागरिकलाई समान अवसर र पहुँच दिने र अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सामग्री प्रदान गर्नु हाम्रो दायित्व भएकाले उनीहरूको जीवनस्तर सुधारमा हामी निरन्तर लागि रहने बताउनुभयो ।

महिला तथा बालबालिका शाखा प्रमुख मिना पहाडीले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै बालविकास केन्द्रहरूमा सिकाइमैत्री वातावरण सिर्जना गर्न, बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुर्याउन शैक्षिक तथा खेलकुद सामग्रीहरू वितरण गरिएको बताउनुभयो । अपांगता भएका व्यक्तिहरूका लागि प्रदान गरिएका सामग्रीहरूले उनीहरूलाई आत्मनिर्भर बन्न सघाउने बताउनुभयो ।

कार्यक्रम अन्तर्गत बालविकास केन्द्रहरूमा अक्षर चिनाउने सामग्री, चित्रात्मक किताबहरू, खेलौना, रंग सामग्री, शिक्षण चार्टहरू, कक्षा व्यवस्थापनका आवश्यक उपकरणहरू, कुर्सी, टेबुल लगायतका सामग्रीहरू प्रदान गरिएको थियो। अपांगता भएका व्यक्तिहरूलाई ह्वीलचेयर, वाकर, छडी, स्वास्थ्य सामग्री, विशेष शिक्षण सहायक सामग्री आदि वितरण गरिएका छन्।IMG-20250710-WA0032

यो सामग्री वितरण कार्यक्रम कोशी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय, पुनः स्थापना कार्यक्रम र केराबारी गाउँपालिकाबीचको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम कार्यक्रमको भागस्वरूप सम्पन्न गरिएको हो।

गाउँपालिकाले आगामी दिनमा पनि यसैगरी बालबालिका, महिला, अपांगता भएका नागरिक तथा अन्य सीमान्तकृत समूहहरूको हितमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, अभिभावक, अपांगता भएका व्यक्तिहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।IMG-20250710-WA0031