विराटनगर /  प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले पत्रकारिता क्षेत्रमार्फत खेलकुद प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विराट टेलिभिजन तथा कोशी प्रेसका प्रबन्ध निर्देशक विकल पौडेलसहितका सञ्चारकर्मीलाई नगदसहित सम्मान गरेको छ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा सम्पन्न विशेष कार्यक्रममा पौडेललाई नगद ११,४४० रुपैयाँ पुरस्कार तथा सम्मान–पत्र प्रदान गरिएको हो।

त्यसैगरी पत्रकार अभय राई, सुमन सुस्केरा, गुरु ढकाल, अनिल श्रेष्ठ र रमा दाहाललाई पनि खेलकुद पत्रकारितामा सक्रिय योगदान पुर्‍याएको भन्दै सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री पाँचकर्ण राईले पत्रकारहरूले प्रदेशका खेल गतिविधिलाई निरन्तर समाचार सम्प्रेषण गर्दै सकारात्मक सन्देश फैलाउने उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, "सङ्घीय सरकारले अपेक्षित बजेट र कार्यक्रम नदिँदा प्रदेशस्तरीय खेलकुद क्षेत्र समस्यामा परेको छ। तर यस्ता कठिन परिस्थितिमा पनि पत्रकारहरूले खेलकुदलाई उजागर गर्दै आएका छन्, जुन अत्यन्त प्रशंसायोग्य हो।"

सो अवसरमा नेपाल सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत (परशुराम)ले सम्मान–पत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा प्रदेशभरिका खेलाडी, प्रशिक्षक, खेलकर्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।