इटहरी | जनता बहुमुखी क्याम्पस, इटहरीले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सहकार्य सम्झौता गरेको छ। असार २४ र २५ गते सम्पन्न सम्झौतामार्फत शैक्षिक, अनुसन्धानात्मक, सांस्कृतिक तथा नवप्रवर्तनमूलक कार्यक्रमहरूमा आपसी सहकार्य गरिने भएको छ।
क्याम्पसले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त सम्झौताबारे जानकारी गराउँदै सहकार्यका विस्तृत पाटा सार्वजनिक गरेको हो। सम्झौताको मध्यस्थकर्ताका रूपमा सक्रिय भूमिका निर्वाह गरेका डा. वेणुप्रसाद सिटौलाले करिब एक वर्षअघि उक्त सहकार्यको प्रारम्भिक पहल गरेका थिए। उनका अनुसार भारतका सात प्रमुख विश्वविद्यालयलाई प्रस्ताव पठाइएकोमा पाँचले सकारात्मक प्रतिक्रिया जनाएका थिए। तीमध्ये हरियाणाको बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको श्री जे. जे. टी. विश्वविद्यालयसँग औपचारिक सम्झौता सम्पन्न भएको हो।
बाबा मस्तनाथ विश्वविद्यालयसँगको सम्झौता कार्यक्रममा कुलपति डा. एच. एल. वर्मा, रजिष्ट्रार डा. विनोद कुमार, सहायक रजिष्ट्रार नवीन कपिल, डा. अरूप गिरी, डा. अभिषेक, डा. वीरेन्द्र सिंह, डा. बाबुराम लगायतको उपस्थिति थियो। यस सहकार्यले विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान, अन्तर्राष्ट्रिय सेमिनार, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
त्यसैगरी राजस्थानको झुँझुनुस्थित श्री जे. जे. टी. विश्वविद्यालयसँगको सम्झौतामा कुलपति डा. देवेन्द्र सिंह ढुल, रजिष्ट्रार डा. अजित कस्वां, डा. अमन गुप्ता, डा. मधु गुप्ता, डा. इकराम, सहायक रजिष्ट्रार श्री कपिल लगायत सहभागी थिए। यो सम्झौताले संयुक्त अनुसन्धान तथा प्रकाशन, युथ इनोभेसन समिट, पाठ्यक्रम सुधार, दीगो विकासका कार्यक्रमहरूमा प्राथमिकता दिने बताइएको छ।
जनता बहुमुखी क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी, भर्ना संयोजक चन्द्रप्रसाद भट्टराई, सहायक क्याम्पस प्रमुख राजन भट्टराई, स्ववियु सभापति सहदेव काफ्ले, बीआईसीटी विभाग प्रमुख मन्दीप भट्टराई र डा. सिटौला सम्झौतामा सहभागी थिए।
कार्यक्रममा अध्यक्ष केसीले क्याम्पसले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्झौता गरेको उल्लेख गर्दै ‘शिक्षामार्फत सहकार्य, सहकार्यमार्फत समृद्धि’ भन्ने नारासहित यो पहल नेपाल–भारत शैक्षिक सम्बन्धको सुदृढीकरणमा योगदान दिने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा ‘नेपाल–भारत शैक्षिक शिखर सम्मेलन’ आयोजना गर्ने तयारीसमेत भइरहेको जानकारी गराइयो।
पत्रकार सम्मेलनमा क्याम्पसले पछिल्लो दुई वर्षमा प्राप्त गरेका प्रमुख उपलब्धिहरू पनि सार्वजनिक गरिएको थियो। अध्यक्ष केसीले विद्यार्थीको शुल्क मात्रमा भर नपरी थप स्रोतको खोज र सहकार्यमार्फत संस्थालाई आत्मनिर्भर बनाउने दिशा तर्फ क्याम्पस अग्रसर रहेको बताए।
विकाश केशी अध्यक्ष भएपछि गरेका महत्वपूर्ण उपलब्धिबारे उनले सूची सार्वजनिक गरेका छन् ।
१. क्याम्पसअघिको हिलो बाटोमा उपमहानगरको सहयोगमा मिस गिटी हालेर ग्राभेल बनाइएको ।
२. क्याम्पसमा विद्यार्थीका लागि ६ वटा बस थप गरिएको । (चक्रघट्टी–विराटचोक तरहरा, शान्तिझोडा, दुहबी, इनरुवा इटहरीसहितका रुटमा बस चल्छन् ।)
३. क्याम्पसभित्र हिलाम्य अवस्थालाई ब्लक हालिएको ।
४. विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै फिल्टरको पानी व्यवस्था गरिएको ।
५. छात्राबासको लागि इटहरी उपमहानगरको सिफारिस र सहरी विकास मन्त्रालयको पहलमा राष्ट्रिय योजना आयोगबाट बहुवर्षीय योजना अन्तर्गत साढे चार करोडको बजेट पार्न सफल । हाल एक करोड ४२ लाखको काम सुरु गरिने ।
६. क्याम्पसको कम्पाउण्ड वालको लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत २५ लाख विनियोजन भएको ।
७. विश्वविद्यालय अनुदानबाट एक करोडको भवन बनाएर अध्यापन सुरु भइसकेको ।
८. अघिल्लो आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोग (युजीसी)को नियमित अनुदानबाट २२ लाख रुपैयाँ विनियोजन भएको । जसमध्ये बिआइसिटीको कक्षा सञ्चालनका लागि पाँच वटा कक्षा तयार गरी अध्यापन सुरु भएको ।
९. आगामी आर्थिक वर्ष पनि विश्वविद्यालय अनुदान आयोगबाट १९ लाख रुपैयाँ विनियोजन भएको ।
१०. क्याम्पसको खेल मैदानको दक्षिणपट्टी रहेको ज्योति स्कुलको नाममा रहेको पोखरीलाई ज्योती स्कुलसँग सम्झौता गरी प्रदेश सरकारबाट चार लाख बजेट पुरिएर आवतजावत गर्न सहज बनाइएको ।
११. सामाजिक दायित्वअनुरुप एनएमबी बैँक इटहरीले तीन लाख रुपैयाँ बराबरको स्मार्ट बोर्ड प्रदान गरेको । जसमा स्मार्ट बोर्डमा शैक्षिक गतिविधि प्रष्ट हुन्छ । उक्त कार्यका लागि पहल गरिएको ।
१२. क्याम्पसदेखि पछाडिको भागलाई डे्रन निर्माण र पुर्नका लागि इटहरी ५ नं. वडा कार्यालयबाट बजेट विनियोजन भएको र काम सुरु गर्ने तयारीमा रहेको । साथै, ग्राउण्डको पूर्व पट्टी ड्रेन निर्माण गर्न बजेट विनियोजन गर्न पहल गरिएको ।
क्याम्पसले सामाजिक उत्तरदायित्वअनुरूप निजी क्षेत्रसँगको साझेदारीमार्फत शैक्षिक गुणस्तरमा सुधार ल्याउन प्रयास गरेको अध्यक्ष केसी बताउँछन् ।
खासगरी कक्षा कोठामा सीसी क्यामेरा जडान गरी पठनपाठन निगरानी प्रणाली सुरु गरिएको उनको भनाइ छ ।
स्थायी प्राध्यापकहरूलाई अनिवार्य रूपमा बिहान ६ देखि १० बजेसम्म क्याम्पसमा उपस्थित हुने नियम लागू गरिएको र प्राध्यापकहरूको काम मूल्यांकन प्रणाली, विषय विभाग प्रमुखको व्यवस्थापन, पोसाक अनिवार्य र प्राध्यापकको तलब वृद्धिजस्ता सुधारात्मक कदम चालिएको उनले उदृत गरे ।
आफूले चुनावी मैदानमा होमिएको समयमै छात्राबास निर्माण गर्ने र उक्त क्याम्पसमा पहाडी जिल्लाबाट अधिकांश विद्यार्थीहरू अध्ययनका लागि आउने भएकाले छात्राबासको मुद्दा उठाएको स्मरण गरे । जसका लागि इटहरी उपमहानगरपालिकाले राष्ट्रिय योजना आयोगमा बजेट माग गर्यो ।
‘क्याम्पसले नै इटहरी उपमहानगरपालिकामार्फत राष्ट्रिय योजना आयोगमा बजेट माग गरेको थियो । सहरी विकास मन्त्रालयमा पनि पटकपटक पुगेर पहल गर्यौँ,’ उनले भने, ‘इटहरी उपमहानगरले दोस्रो नम्बरमा योजना राखेर पाँच करोड माग गरेपनि बहुवर्षीय योजनाका लागि चार करोड ९६ लाख रुपैयाँ प्राप्त भएको छ ।’
आफूले उक्त माग राखेपछि उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले ‘राष्ट्रिय योजना आयोगमा पारिदिने जिम्मा मेरो भयो’ भनेर वचन दिएको उनले स्मरण गरे ।
‘चुनावको बेला मैले विद्यार्थीहरूलाई छात्राबास बनाउने भनेर वचन गरेकाले यो कामको लागि विशेष पहल गरेँ,’ उनले भने, ‘हामीले क्याम्पसको चौतर्फी गुणस्तर सुधारका निम्तिसमेत विशेष काम गरिरहेका छौँ ।’
आफूले काम गरेको उपलब्धिहरूको सूची लामो भएपनि, अध्यक्ष केसी अझै सन्तुष्ट नरहेको बताउँछन् ।
‘प्रत्येक महिना बैठक बस्ने, सुधारका योजना निर्माण गर्ने र प्राध्यापक–कर्मचारीसँग अन्तरक्रिया गरी आम मानिसले विश्वास गर्ने क्याम्पस बनाउने हाम्रो लक्ष्य हो,’ उनी भन्छन्, ‘क्याम्पसलाई सबै दृष्टिकोणबाट राम्रो बनाउने हुटहुटी छ, त्यही अनुसार काम गरिरहेका छौँ ।’
उनले बुद्धिजीवी एवम् शैक्षिक क्षेत्रमा आवद्ध व्यक्तिहरूसँग क्याम्पसको गुणस्तर सुधार गर्नका निम्ति सकारात्मक सुझावकोसमेत माग गरे ।
