बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका–७ को आयोजनामा सञ्चालन गरिएको निःशुल्क कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
बराह इन्स्टिच्युट अफ टेक्नोलोजीको प्राविधिक सहयोग र वडा कार्यालयको आर्थिक सहकार्यमा वडा नं. ७ भित्रका ५० भन्दा बढी विद्यार्थीहरूले तालिम प्राप्त गरेका छन्। तालिम प्रभावकारी र उपलब्धिमूलक भएको वडा अध्यक्ष कपिल आचार्यले जानकारी दिनुभयो।
समापन समारोहमा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले यस्ता सीपमूलक तालिमहरू नगर क्षेत्रमा निरन्तर सञ्चालन भइरहने बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा रोजगारमुखी तथा दक्ष जनशक्ति उत्पादन हुने तालिमहरूमा नगरपालिकाले अझ बढी जोड दिनेछ।
कार्यक्रम वडा अध्यक्ष कपिल आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा नगर प्रमुख रमेश कार्की रहनुभएको थियो। विशेष अतिथिमा नगर उप–प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, वडाका जनप्रतिनिधि, प्रशिक्षकहरू र प्रशिक्षार्थीहरूको उपस्थितिले कार्यक्रमलाई थप सफल बनाएको थियो। कार्यक्रम सञ्चालन समीर चन्द्रवंशीले गर्नुभएको थियो ।


