इटहरी । संखुवासभाको धर्मदेवी–४ र मादी नगरपालिका–६ तथा चैनपुर–१ र मादी नगरपालिका–९ लाई जोड्ने दुई पक्की पुल शनिबारदेखि सञ्चालनमा आएका छन्। शनिबार आयोजित उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुबै पुल उद्घाटन गर्नुभएको हो । पुल सञ्चालनपछि स्थानीयवासीको आवागमन सहज हुने बताउनुभयो। मन्त्री खड्काले पुलमार्फत कृषकले उत्पादन गरेका कृषिबाली सहज रूपमा बजारसम्म पुर्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाउँदै ठेकेदारको लापरवाहीका कारण जनताले समयमा सेवा पाउन नसकेको उल्लेख गर्नुभयो। चैनपुर–१ र मादी–९ जोड्ने यावरा खोलामाथिको ६३ मिटर लामो पक्की पुलको निर्माण कार्य २०७३ भदौ २८ गते सुरु गरिएको थियो। पुल २०७९ पुस १२ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको ढिलाइका कारण झण्डै तीन वर्षपछि मात्र कार्य सम्पन्न भएको हो। उक्त पुल निर्माणमा सात करोड १९ लाख ६५ हजार खर्च भएको डिभिजन सडक कार्यालय तुम्लिङटारले जनाएको छ। निर्माण कार्य कुन्सालिङ निर्माण सेवा, भोजपुरले जिम्मा लिएको थियो। यस्तै, धर्मदेवी–४ र मादी नगरपालिका–६ जोड्ने मायाखोला माथिको ६३ मिटर लामो पक्की पुल २०७४ भदौ २४ गतेदेखि निर्माण थालिएको थियो। निर्धारित म्याद २०७६ फागुन २ गते भए तापनि निर्माण कम्पनीको लापरवाहीका कारण पुल झण्डै साढे तीन वर्षपछि सम्पन्न भएको हो। पुल निर्माणमा ६ करोड २५ लाख ३९ हजार खर्च भएको छ। यस पुलको निर्माण बिटि निर्माण सेवाद्वारा गरिएको हो।
