इटहरी | इटहरी चोकमा अवस्थित स्किल क्याम्पसले कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई लक्षित गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम स्किल क्याम्पसका प्रिन्सिपल प्रज्वल पराजुलीको अध्यक्षता र इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
यस अघि भएको अभिमुखिकरण कार्यक्रम अन्तर्गत ध्यान–योग, सांस्कृतिक प्रस्तुति, शिक्षण–सिकाइ, व्यावहारिक ज्ञान, खेलकुद तथा आत्म–पहिचान जस्ता विषयमा विद्यार्थीलाई जानकारी दिइएको थियो।
स्किल क्याम्पसका प्रिन्सिपल पराजुलीले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै व्यावसायिक सीपमा समेत दक्ष बनाउन क्याम्पसले होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्सलगायतका विषयमा शिक्षण गरिरहेको जानकारी दिनुभयो।
त्यसैगरी प्रमुख अतिथि शाहले कार्यक्रमले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै व्यावसायिक सीप सिक्ने अवसर दिलाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम क्याम्पसका शिक्षक कल्याण शाहले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा इटहरी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शिक्षा अधिकृत तिर्थ गौतम, कवि बद्री भिखारी, देवान किराँती, नाट्य निर्देशक तथा वरिष्ठ रंगकर्मी सोनु जयन्तीसहित क्याम्पसका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


