मौसम कोइराला 

इटहरी । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा मोरङको सुन्दरहरैंचा नगरपालिका–३, घेरावनीस्थित ऐतिहासिक एवं धार्मिक महत्वको शेष नारायण दिव्यधाम आचार्य सेवा गुरुकुलमा अध्ययनरत बटुकहरूलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ।

कार्यक्रममा बोल्दै इटहरीस्थित एक्सपर्ट एजुकेशनका प्रबन्ध निर्देशक कमल तिम्सिनाले यस गुरुकुलमा अध्ययनरत बटुकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले यो अभियान अघि सारिएको बताउनु भयो । उहाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष समाजका वञ्चित वर्गलाई सहयोग गर्दै आएको र यसपालि गुरुकुलका विद्यार्थीलाई सहयोग प्रदान गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चल शाखाका प्रमुख रविन्द्र निरौलाले गुरुकुलमा प्रदान गरिएको सहयोगले विद्यार्थीहरूको मनोबल बढाउने र गुरुकुल शिक्षालाई अझ सबल बनाउन मद्दत गर्ने बताउनु भयो । 

त्यसैगरी, गुरुकुलका पीठाधीश प्रा. डा. यतिराजाचार्य स्वामी महाराजले गुरुकुलले प्राचीन वैदिक शिक्षाको संरक्षणसँगै आधुनिक शिक्षालाई समेत प्राथमिकता दिँदै आएको बताउनु भयो । उहाका अनुसार गुरुकुलमा संस्कृति, भाषा, गणित, अङ्ग्रेजी र नेपाली विषय अध्यापन गराइदै आएको छ । 

गुरुकुल र मन्दिरलाई संरक्षण गर्दै यसको प्रचार–प्रसारमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको छ । कार्यक्रममा एक्सपर्ट एजुकेशनका कर्मचारी, गुरुकुलका आचार्य, बटुकहरूको  उपस्थिति थियो। IMG-20250730-WA0020

गुरुकुलले विगत लामो समयदेखि स्थानीय तथा टाढा–टाढाबाट आएका बटुकहरूलाई आवासीय रूपमा राखी वैदिक शिक्षा, संस्कृत भाषा तथा आधुनिक विषयहरू अध्यापन गर्दै आएको छ। स्थानीयबासीले पनि गुरुकुललाई संरक्षण गर्न र यसको निरन्तरता कायम राख्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।