इटहरी / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय समितिले सुनसरी जिल्लाको इञ्चार्जमा रिजेन भट्टराईलाई नियुक्त गरेको छ। अनेरास्ववियु केन्द्रीय कार्यविभाजनअनुसार भट्टराईले अब अनेरास्ववियु सुनसरीको नेतृत्व गर्नेछन्।
केन्द्रीय कार्यालय, काठमाडौंबाट जारी कार्यविभाजन सूचनामा कोशी प्रदेश अन्तर्गतका १४ जिल्लामा नयाँ जिल्ला इञ्चार्जहरूको घोषणा गरिएको छ। उक्त निर्णयअनुसार सुनसरीको जिम्मेवारी रिजेन भट्टराईलाई प्रदान गरिएको हो।
भट्टराई लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएका युवा हुन्। संगठनप्रतिको प्रतिबद्धता, नेतृत्व क्षमताको मूल्याङ्कन गर्दै उनलाई महत्वपूर्ण जिल्ला सुनसरीको नेतृत्व सुम्पिएको अनेरास्ववियु स्रोतले जनाएको छ।
अनेरास्ववियु कोशी प्रदेशको नेतृत्वमा प्रदेश इञ्चार्जका रूपमा प्रविन कार्की रहेका छन् भने संयोजकमा क. नारायण पोखरेल, सह–संयोजकमा नवराज घिमिरे र क. पारस राई छन्।
यसैगरी अन्य जिल्लागत इञ्चार्जहरू भोजपुर निशान राई, धनकुटा मुना चापागाईं, इलाम रञ्जना घतानी, संखुवासभा लक्ष्मी सुवेदी, खोटाङ विष्णु उपर्कोटी, मोरङ प्रीति दाहाल,ओखलढुङ्गा इन्दिरा खातीवडा, पाँचथर अर्जुन नेम्वाङ, सोलुखुम्बु विष्णु उपर्कोटी,ताप्लेजुङ अर्जुन नेम्वाङ, तेह्रथुम – विनोद दुलाल, उदयपुर सिंहबहादुर राई, विराटनगर महानगर इञ्चार्ज चिरनमण राई तोकिएका छन्
अनेरास्ववियु केन्द्रीय समितिद्वारा साउन १४ गते जारी कार्यविभाजनअनुसार नयाँ नेतृत्वले संगठनलाई थप ऊर्जावान, गतिशील र कार्यदक्ष बनाउने अपेक्षा गरिएको छ।
आफ्नो नेतृत्वमा अनेरास्ववियु सुनसरीमा अझ सशक्त ढंगले संगठन विस्तार, विद्यार्थी हक–हितको रक्षाका साथै जनताको पक्षमा आवाज उठाउने कार्यमा अग्रसर हुने सुनसरी इन्चार्ज रिजेन भट्टराईले बताए।


