इटहरी । कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरेसँगै यसलाई सफल बनाउन संखुवासभाको खाँदबारीमा ‘गाईजात्रा तथा हिलेजात्रा महोत्सव’ आयोजना गरिने भएको छ ।  आयोजक खाँदबारी युथ क्लबले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेन शाक्यले महोत्सवले स्थानीय कला, संस्कृति, परम्परा र पर्यटन प्रवर्धन गर्ने उद्देश्य लिएको बताउनुभयो। उहाँका अनुसार नेवारी समुदायको सांस्कृतिक पहिचान बोकेको गाईजात्रा पर्वलाई विशेष महत्त्वका साथ मनाइने छ ।

गाईजात्रालाई नेवारी बाजा, भजन, परम्परागत नाचगान, जातीय परिकारहरूको प्रदर्शनी, हस्तकला र मौलिक परिकारहरूको स्वादसँग जोडेर प्रस्तुत गरिनेछ। साथै, महोत्सवमा खाँदबारी नगरपालिकाका विभिन्न टोल, वडा, स्थानीय संघसंस्था र विविध जातजातिको सक्रिय सहभागिता रहने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक झाँकी, स्थानीय उत्पादनको प्रदर्शनी तथा बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई सहभागी गराउने कार्यक्रमहरू समेटिने छन् ।

अध्यक्ष शाक्यका अनुसार महोत्सवले पर्यटकको आकर्षण बढाउनुका साथै रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत र सामाजिक एकतालाई समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । क्लबका अनुसार महोत्सवलाई सफल बनाउन स्टल व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा लगायतका तयारीहरू तीव्र रूपमा अगाडि बढाइएका छन् ।