धरान | उच्च शिक्षाकालागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
एक्सपर्ट धरानको आफ्नै कार्यालय भवन परिसरमा सम्पन्न रक्तदानमा ५१ प्रिन्ट रगत सङ्कलन भएको एक्सपर्टका ब्राण्ड कोअर्डिनेटर विमल पराजुलीले जानकारी दिनु भयो ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहायतामा सम्पन्न रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, इक्यान पूर्वाञ्चल अध्यक्ष रवीन्द्र निरौला लगायत शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा धरान १५ का चन्द्र खड्काले ८२ औँ पटकको रक्तदान गरेको थिए । धरानको बिपी प्रतिष्ठानमा भइरहेको रगत अभावलाई थोरै भएपनि राहत होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको निर्देशक कमल तिम्सिनाले जानकारी दिनु भयो ।
कार्यक्रमलाई रोट्याक क्लब अफ धरान, रोट्याक क्लब धरान घोपाले सहयोग गरेका थिए । २२ औँ वार्षिकोत्सवको देशभरका शाखा कार्यालयहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरिएको हो ।


