इटहरी – श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा इटहरीको राधाकृष्ण शिव मन्दिरमा भदौं १ गते भव्य रथयात्रा आयोजना हुने भएको छ। मन्दिर संचालक समितिको व्यवस्थापनमा हुन लागेको यो रथयात्रा इटहरीवासीका लागि विशेष आकर्षणको केन्द्र बन्नेछ।
मन्दिर परिसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै समितिका पदाधिकारीहरूले साउन ३१ गते श्रीकृष्ण जन्माष्टमी मनाइने र भोलिपल्ट भदौं १ गते रथयात्रा आयोजना गरिने जानकारी गराएका छन्।
रथयात्रा मन्दिरबाट सुरु भई इटहरी मुख्य चोक, पश्चिम ट्राफिक प्रहरी कार्यालय, पेट्रोल पम्प हुँदै पुनः मुख्य चोक, आर्मी व्यारेक, बसस्टेण्ड, मिलनचोक हुँदै राधाकृष्ण शिव मन्दिरमै आएर समापन गरिनेछ।
कार्यक्रम संयोजक तथा मन्दिरका उपाध्यक्ष भूपेन्द्र बरालका अनुसार यसपटकको रथयात्रा पनि विगतका वर्षझैं सभ्य र भव्य हुनेछ। धार्मिक गतिविधिसँगै मन्दिरको प्रचारप्रसार र संरक्षणलाई प्राथमिकता दिइएको उनले बताउनु भयो ।
मन्दिर संचालक समिति अध्यक्ष विश्वप्रसाद रिजालले धार्मिक परम्पराको संरक्षण र सामाजिक एकता मजबुत बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नु भयो ।
रथयात्रालाई अझ आकर्षक बनाउन इटहरीवासीहरूलाई आफ्नो परम्परागत भेषभूषा र झाँकीसहित सहभागी हुन आग्रह गरिएको छ।
कार्यक्रम सफल बनाउन प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी क्याम्प झुम्का , नगरी प्रहरी इटहरी तथा अन्य सुरक्षा निकायहरूसँग समन्वय हुने भएको छ ।
रथयात्रामा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ भने रथयात्रा सुरक्षित र व्यवस्थित होस् भनी विशेष टोली परिचालन गरिएको पनि आयोजकले जनाएका छन्।


