इटहरी । मिक्लाजुङ गाउँपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) तथा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान तथा प्रोत्साहन गरेको छ । हिजो साउन २८ गते श्री मनोहर जनता मा।वि। मधुमल्लाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका ७ सामुदायिक र ६ संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई मिक्लाजुङ गाउँपालिकाले प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गरिएको हो। यसअन्तर्गत २०८१ सालको (एसइइ)  परीक्षामा प्राविधिक धार (सिभिल इन्जिनियरिङ) तथा साधारण शिक्षा तर्फका १३ जना, र कक्षा १२ को परीक्षामा प्राविधिक धार, विज्ञान, शिक्षा तथा व्यवस्थापन समूहका विद्यार्थीहरूलाई छुट्टाछुट्टै सम्मान गरिएको थियो।

त्यस्तै, (एसइइ) परीक्षामा सहभागी ४२ जना विद्यार्थी सबै उत्तीर्ण भई १००५ नतिजा ल्याउन सफल श्री टाँडी मा।वि। रमितेखोला, कक्षा १२ को विज्ञान समूहमा सतप्रतिशत नतिजा ल्याउन सफल श्री भगवती मा।वि। मधुमल्ला, र प्राविधिक धारमा सतप्रतिशत नतिजा ल्याउन सफल श्री कालिका सामुदायिक मा।वि। टाँडीलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो। यी दुवै विद्यालयबाट ३७–३७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बबिकुमार राईले उच्च (जिपिए) हासिल गर्ने विद्यार्थी र सतप्रतिशत नतिजा ल्याउने विद्यालयहरूले गाउँपालिकाको गौरव बढाएको भन्दै धन्यवाद ज्ञापन गरे। साथै, उत्कृष्ट विद्यार्थीहरूको उच्च शिक्षामा गाउँपालिकाले निरन्तर सहयोग गर्ने जानकारी उनले दिए।

उपाध्यक्ष दिनेश पौडेलले शिक्षक र विद्यार्थीको मनोबल उच्च राख्न, नतिजाका आधारमा प्रोत्साहन र सम्मानको परम्परा कायम राख्दै विद्यालय शिक्षाको सुधारमा लागिरहने प्रतिवद्धता जनाए। शिक्षा प्रमुख काशिनाथ खनाले गाउँपालिकाले विगत वर्षदेखि शिक्षक, विद्यार्थी तथा विद्यालयलाई प्रोत्साहन र सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।