इटहरी । संगीत प्रतिष्ठान टोल विकास संस्था, इटहरी–२ सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नम्बर २ को सहकार्यमा सम्पन्न एक दिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १ सय ५ जना बढी महिलाले सेवा लिएका छन् । वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा संगीत सामुदायिक भवनमा आयोजित उक्त स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्राविधिक सहयोग बिराट टिचिङ अस्पतालले गरेको थियो । कार्यक्रममा महिलाहरूमा पाठेघर मुखको क्यान्सरको प्रारम्भिक अवस्था पत्ता लगाउन आवश्यक परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको हो । संस्थाका अध्यक्ष विकास भण्डारीले महिलालाई समयमै स्वास्थ्य परीक्षण गरेर रोगको जोखिम कम गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले संस्थाले निरन्तर सामाजिक कार्य गर्दै आएको पनि उल्लेख गर्नुभयो । त्यसैगरी, बिराट टिचिङ अस्पतालका स्त्री तथा प्रजनन रोग विशेषज्ञ डा. राहुल महासेठले रोग समयमा पत्ता लगाएर उपचार गर्न सकिने भएकाले महिलाले लापरबाही नगरी नियमित परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमलाई इटहरी वडा नम्बर २ की हाल अमेरिकामा रहनुभएकी अनु धिमालले आर्थिक तथा व्यवस्थापकीय सहयोग गर्नुभएको थियो  ।