इटहरी । सरकारले ल्याउन लागेको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० का प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालक संगठनहरूले संयुक्त रूपमा विरोध जनाउँदै चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेका छन्।
एपेन, हिसान, प्याब्सन र एन–प्याब्सनले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै “नाफारहित संस्था” भन्ने शब्द हटाउन, विद्यालयलाई आवश्यक सामग्री आपूर्ति गर्ने अधिकार जोगाउन, शुल्क निर्धारण गर्ने अधिकार विद्यालयकै जिम्मामा राख्नुपर्ने लगायतका मागहरू अघि सारेका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “विधेयक यथावत पारित भएमा शिक्षा नीतिमा गम्भीर असर पर्नुका साथै निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पर्ने भएकाले आन्दोलनमा जान बाध्य भएका छौं।”
घोषित आन्दोलन कार्यक्रम
भदौ ५ गते : बिहान ११ बजे देशभरका विद्यालय नजिकै प्रदर्शन, २७ किलोमिटर वरिपरिका विद्यालयमा पठनपाठन रोक्ने।
भदौ ६ गते : माइतीघर मण्डलामा धर्ना।
भदौ ७ गतेदेखि : आवश्यकताअनुसार चरणबद्ध आन्दोलनमा प्रवेश।
संगठनहरूले अभिभावक, विद्यार्थी र आमसञ्चारमाध्यमलाई आन्दोलनमा सहयोग र समर्थन गर्न समेत आग्रह गरेका छन्।


