सुन्दरहरैचा । नेपाल शिक्षक महासङ्घ केन्द्रीय समितिको आह्वानअनुसार शुक्रबार देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्। सोही क्रममा नेपाल शिक्षक महासङ्घ सुन्दर हरैचा नगर समितिले पनि नगरस्तरीय धर्ना कार्यक्रम सम्पन्न गरेको छ।

महासङ्घ सुन्दर हरैचा नगर अध्यक्ष ठाकुर प्रसाद सुबेदीको नेतृत्वमा आयोजित कार्यक्रममा सुन्दर हरैचा नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। धर्ना कार्यक्रममा सहभागी शिक्षकहरूले हालै सरकारले ल्याएको शिक्षासम्बन्धी नीति तथा व्यवस्थाप्रति आपत्ति जनाउँदै त्यसको पुनर्विचार गर्न माग गरे।

IMG_20250829_120911

शिक्षक महासङ्घले केन्द्रदेखि स्थानीय तहसम्म एकीकृत आन्दोलन कार्यक्रम सञ्चालन गरिरहेको छ। केन्द्रले तोकेको कार्यक्रमअनुसार शुक्रबार देशभर एकैसाथ शिक्षकहरूले धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्य सम्पन्न गरेका हुन्।

कार्यक्रमपछि शिक्षकहरूले सुन्दर हरैचा नगरपालिका नगरप्रमुख केदार प्रसाद गुरागाईं र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेलाई मागसहितको ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमार्फत शिक्षकहरूले शिक्षकमाथि हुने भेदभावपूर्ण व्यवहार अन्त्य गर्न, स्थायी नियुक्ति प्रक्रियालाई सहज बनाउन, पुँजीगत तथा प्राविधिक सुविधाहरू सुनिश्चित गर्न र शिक्षालाई राजनीति मुक्त बनाउन जोड दिएका छन्।

साथै, माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनलाई अझ तीव्र पार्ने चेतावनी पनि शिक्षकहरूले दिएका छन्।