इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत आठ जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा रहेका इटहरी वडा नं. २ का रामकुमार घिमिरेले ३५ हजार रुपैयाँ सहयोग गरेका हुन् । पूर्व विद्यार्थी रामकुमारले पठाएको सो रकम कक्षा ६ मा अध्ययनरत निस्मा चौधरी, आस्मा माझी, अञ्जली सार्की, दिव्या केसी, सन्तोष राई, नवीन कार्की, मिडेन लिम्बु र रुपक बुढाथोकीलाई प्रदान गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार जनही चार हजार ३७३ रुपैयाँका दरले रकम प्रदान गरिएको हो ।
सो रकम रामकुमारका बाबुआमा इटहरी वडा नं. २ आँपगाछीमा बसोबास गर्दै आएका समाजसेवी भुवनाथ घिमिरे र दिव्याश्वरी घिमिरेले एक कार्यक्रम गरि विद्यार्थीलाई प्रदान गरेका हुन् । सहयोगी दाता रामकुमारकै योजना अनुसार आर्थिक अवस्था कमजोर भएका त्यसमा पनि बाबुआमा गुमाएका वा बाबुआमामध्ये एक जना नभएका छात्रछात्राहरुलाई छनोट गरि उनीहरुको सिकाइमा थप टेवा पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए । 
विपन्न विद्यार्थीलाई छोराले पठाएको रकम प्रदान गरिको समाजसेवी भुवनाथ घिमिरेले जानकारी दिनु भयो ।


