इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट तथा भिडियोसुट सम्पन्न भएको छ। बुधबार इटहरीस्थित सोल्टी होटलमा भएको उक्त कार्यक्रममा ११ जना फाइनल प्रतिस्पर्धीहरूले विभिन्न पोजमा फोटो खिचाएका थिए भने परिचयात्मक भिडियो पनि छायांकन गरिएको थियो। फोटोग्राफी निश्चल ग्यालरीका निश्चल श्रेष्ठले गरेका थिए।
ओपन स्पेस प्रालीको आयोजनामा भइरहेको प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने उद्देश्य लिएको छ। फाइनलमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनसरीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, मेघा खड्का, अनुशा कुँवर र उर्मिला मगर रहेका छन्।
प्रतिस्पर्धीहरू दुई चरणको डिजिटल र फिजिकल अडिसन पार गर्दै फाइनलमा पुगेका हुन्। हाल उनीहरूलाई र्याम्प वाक, बोल्ने कला, महिला सशक्तिकरणसम्बन्धी ज्ञान लगायतका बौद्धिक सिपमा प्रशिक्षण दिइँदैछ। प्रतिस्पर्धीहरूको कोरियोग्राफी शुभेक्षा कार्कीले गरिरहेकी छन्।
विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आइकन’को पहिलो संस्करण गत वर्ष सफलतापूर्वक सम्पन्न भएको थियो। यसमा उचाइ वा मोटाइको कुनै सीमा तोकिएको छैन। प्रतिस्पर्धीहरू अहिले ट्यालेन्ट राउन्डको तयारीमा व्यस्त छन्।
विजेताले १ लाख रुपैयाँ नगदसहित आकर्षक उपहार प्राप्त गर्नेछन् भने प्रतियोगिताको ग्राण्ड फिनाले असोजको पहिलो सातामा इटहरीमै हुने आयोजकले जानकारी दिएको छ।


