माेरङ, सुन्दरहरैँचा । माेरङको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसले फेरि पनि देशकै उत्कृष्ट शैक्षिक गन्तव्यको प्रमाण प्रस्तुत गरेको छ। हालै प्रकाशित BBA पाँचौँ सेमेस्टरको नतिजामा सो क्याम्पसकी छात्रा प्रभा थापाले 4 SGPA ल्याउँदै नेपाल उत्कृष्ट अङ्क ल्याउन सफल भएकी छन्।
त्यस्तै, अर्चना रिजालले 3.99 SGPA ल्याउन सफल भइन्। यसैगरी, योवी गुरुङ, स्मृति बस्नेत र प्रकृति लुइटेलले 3.98 SGPA ल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।
क्याम्पसको सफलता सार्वजनिक भएपछि क्याम्पस प्रशासनले सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकप्रति आभार प्रकट गरेको छ। क्याम्पस प्रमुख अर्जुन अधिकारीका अनुसार, “सुकुना बहुमुखी क्याम्पस निरन्तर शैक्षिक गुणस्तरमा उच्च परिणाम ल्याउन प्रतिबद्ध छ। यहाँका विद्यार्थीहरूले ल्याएका उपलब्धिले सम्पूर्ण संस्थालाई गर्व दिलाएको छ।”
नेपाल प्रथम बन्न सफल प्रभा थापाले भनिन्, “यो सफलता मेरो मात्र नभई सम्पूर्ण शिक्षक, अभिभावक र साथीहरूको हो। निरन्तर मिहिनेत र सही मार्गदर्शनले यस स्तरमा ल्याएको हो।”
त्यस्तै, उत्कृष्ट नतिजा हात पार्न सफल अन्य विद्यार्थीहरूले पनि आफूहरूलाई अझ प्रोत्साहित गर्ने खालको उपलब्धि भएको बताएका छन्।
सुकुना बहुमुखी क्याम्पसले आफ्नो शैक्षिक उत्कृष्टतालाई अझ मजबुत बनाउन नयाँ शैक्षिक कार्यक्रम विस्तार गर्ने र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने योजनाका साथ अघि बढेको प्रशासन अधिकृत नवराज कोइरालाले बताउनुभयो।
लगातार उत्कृष्ट परिणाम उत्पादन गर्दै आएको सुकुना बहुमुखी क्याम्पस हाल सुन्दरहरैँचाको मात्र नभई समग्र देशकै शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।


