सुनसरी, इटहरी । लगातारको भारी वर्षाका कारण इटहरी–खानार क्षेत्रमा रहेको जन्ता केवल इण्डस्ट्रीज प्रा. लि. (Janta Cable Industries Pvt. Ltd.) डुबानमा परेको छ। लगातार तीन दिनदेखिको अविरल वर्षाले निकासी नालाहरू बन्द हुँदा कारखानाभित्र पानी पसेको हो।
स्थानीयका अनुसार उद्योगको भण्डारण कक्ष र उत्पादन लाइन दुवै क्षेत्रमा करिब दुई फिटसम्म पानी पुगेको छ। यसका कारण उत्पादन गतिविधि पूर्णरूपमा अवरुद्ध भएको उद्योग स्रोतले जनाएको छ।
उद्योग प्रशासनका अनुसार लाखौँ मूल्यका तार र कन्डक्टर सामग्रीहरू पनि क्षतिग्रस्त भएका छन्। “हामीले केही मेसिन र कच्चा पदार्थ सुरक्षित गर्ने प्रयास गरेका थियौं, तर पानीको स्तर तीव्रगतिमा बढ्दा नियन्त्रण बाहिर गयो,” एक प्राविधिक कर्मचारीले भने।
खानार औद्योगिक क्षेत्रका अन्य साना–ठूला उद्योगहरू पनि आंशिक रूपमा प्रभावित भएका छन्। स्थानीय सरकारले उद्धार र पानी निकासका लागि डोजर तथा पम्प सेट प्रयोग गर्न थालेको छ।
जन्ता क्याबल इण्डस्ट्रीज नेपालको प्रमुख तार तथा कन्डक्टर उत्पादक कम्पनी मध्ये एक हो, जसले देशभरका विद्युत् आयोजना र निर्माण परियोजनामा सामग्री आपूर्ति गर्दै आएको छ।
वडा नम्बर १२ का वडाध्यक्ष भुवन पोखरेलका अनुसार, “यो घटना औद्योगिक क्षेत्रको दिगोपनाबारे गम्भीर सोच्ने समय आएको संकेत हो। निकास प्रणाली सुधार नगरेसम्म हरेक वर्ष यस्तै जोखिम रहिरहनेछ।”
हालसम्म कुनै जनधनको क्षतिको रिपोर्ट आएको छैन, तर उद्योगलाई लाखौँको आर्थिक क्षति भएको अनुमान गरिएको छ