इटहरी । लगातारको भारी वर्षाका कारण इटहरी–खानार क्षेत्रमा रहेको जनता केवल इण्डस्ट्रीज प्रा.लि. डुबानमा परेको छ । लगातार तीन दिनदेखिको अविरल वर्षाले निकासी नालाहरू बन्द हुँदा कारखाना भित्र पानी पसेको हो। स्थानीयका अनुसार उद्योगको भण्डारण कक्ष र उत्पादन लाइन दुवै क्षेत्रमा करिब दुई फिट सम्म पानी पुगेकाले उत्पादन गतिविधि पूर्णरूपमा अवरुद्ध भएको उद्योग स्रोतले जनाएको छ । उद्योग प्रशासनका अनुसार लाखौँ मूल्यका तार र कन्डक्टर सामग्रीहरू पनि क्षतिग्रस्त भएका छन् । जनता केवल इण्डस्ट्रीज नेपालको प्रमुख तार तथा कन्डक्टर उत्पादक कम्पनी मध्ये एक हो, जसले देशभरका विद्युत् आयोजना र निर्माण परियोजनामा सामग्री आपूर्ति गर्दै आएको छ । प्याकेजिङ मेटेरियल तार तथा मेसिनरीहरू क्षतिग्रस्त भएकाले इण्डस्ट्रीजको क्षतिको पूर्ण रिपोर्ट नआए पनि उद्योगलाई एक करोडभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको इन्डस्ट्रिजका म्यानेजर पुसपेस राउतले बताउनुभयो । खानार औद्योगिक क्षेत्रका अन्य साना–ठूला उद्योगहरू पनि आंशिक रूपमा प्रभावित भएका छन्। स्थानीय सरकारले उद्धार र पानी निकासका लागि डोजर तथा पम्प सेट प्रयोग गर्न थालेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष अवदेश चौधरीले यस्ता घटनाले औद्योगिक क्षेत्रको दिगोपनाबारे गम्भीर सोच्ने समय आएको संकेत रहेको बताउनुभयो । निकास प्रणाली सुधार नगरे सम्म हरेक वर्ष यस्तै जोखिम रहिरहने उहाँको भनाइ छ ।